काठमाडौं- कप्तान देव खनालले शतकसँगै नेपालले यु१९ प्रिमियर कपमा इरानलाई ३ सय ५४ रनको विशाल लक्ष्य दिएको छ। मलेसियाको वाइएसडी युकेएम ओभल बाँगी मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै ३ सय ५३ रन बनाएको हो।
कप्तान खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय पारी खेले। उनसँग दीपक बोहराले राम्रो पार्टनरसिप गरे। बोहराले ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रन बनाए। पाँचौं ओभरको सुरुवातसम्म जम्मा १० रन जोडेर २ विकेट गुमाएको नेपालका लागि देव र दीपकले १ सय ६६ रनको साझेदारी गरेका हुन्।
नेपालका ओपनर अर्जुन कुमाल गोल्डेन डक र आकाश त्रिपाठी ३ रनमै आउट भएका थिए। विकेटकिपर दीपकप्रसाद डुम्रेले ४४ बलमा ८ चौका र २ छक्कासहित ६९ रन बनाए। इरानका दद्रहमान राइसीले ९ ओभरमा ६७ रन खर्चेर ३ विकेट, सलमान निज्मान्दले ८ ओभरमा ६२ रन खर्चेर ३ विकेट, समान शेखी र जियाद राइसीले समान दुई विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।