काठमाडौं– अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुने प्रतियोगिता खेल्न जाने यू–१९ नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राट्रिय खेलकुद परिषद् ( राखेप)ले बिदाई गरेको छ।
सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच खेलाडीहरुको बिदाई गरिएको हो। क्यान उपाध्यक्ष रोशन सिंह, कोषाध्यक्ष पदम खड्का, सचिव पारस खड्का र सदस्य दिवाकर घले, सुदीप शर्मालगायतले बिदाई गरेका थिए।
बिदाई कार्यक्रममा बोल्दै यू–१९ टिमका कप्तान देव खनालले अभ्यास राम्रो रहेको र आफूहरुको उद्देश्य ट्रफी ल्याउने रहेको बताए। उनले फास्ट बलिङ र ब्याटिङ राम्रो रहेको उल्लेख गरे।
उनले भने, ‘अभ्यास राम्रो छ। कोही पनि नराम्रो टिम छैन। सबै राम्रो छन् तर हामीले रिजल्ट राम्रो ल्याउँछौं भन्ने आश छ। विश्वकपमा ७ वर्षपछि पुग्यौं। एशिया कप पनि जितौं भन्ने छ र ट्रफी ल्याउनेछौं। फास्ट बलर राम्रो छ र ब्याटिङ राम्रो छ। अवसर छ र यो राम्रो छ।’
कार्यक्रममा बोल्दै नेपाली यू–१९ राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले सबै किसिमले तयार रहेको र एशिया कपको क्वालिपफायर हुने र ट्रफी ल्याउने लक्ष्य रहेको बताए। उनले ट्रफीका लागि खेलाडीहरु भोका रहेको बताए।
उनले भने, ‘हामी सबै किसिमले तयार छौं। एशिया कपको क्वालिफायरको लागि ४ वटा टिम छन् र सबै महत्त्वपूर्ण छ। त्यसको लागि हामीले अभ्यास राम्रो गरेका छौं। जित्नका लागि भोका छन्। हाम्रो उद्देश्य जित्ने नै हो। फिल्डमा राम्रो गर्नुपर्छ।’
त्यस्तै क्यानका सचिव पारस खड्काले यू–१९ क्रिकेट नेपाल क्रिकेटको सबैभन्दा ठूलो पर्फमेन्स गरेर राष्ट्रिय टिममा पर्ने प्लेटफर्म भएको बताए।
उनले भने, ‘यू–१९ क्रिकेट नेपाल क्रिकेटको सबैभन्दा ठूलो पर्फमेन्स गरेर राष्ट्रिय टिममा पर्ने प्लेटफर्म भएको छ। इतिहास पनि यही छ। यो यहाँहरुको सामु छ। यो परीक्षा हुने छ। यसलाई अवसरको रुपमा लिनुहोला।’
समूह ‘ए’ मा नेपाल, बहराइन, साउदी अरेबिया र इरान, समूह ‘बी’मा यूएई, ओमान, कतार र चीन छन्। यसैगरी समूह ‘सी’मा सिंगापुर, कुवेत, थाइल्याण्ड र माल्दिभ्स, समूह ‘डी’ मा हङकङ, मलेसिया, जापान र इण्डोनेसिया छन्।
१६ एसोसिएट टोली सहभागी प्रतियोगिताका शीर्ष ३ टोली एसिसी यु–१९ एशिया कपका लागि छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।