काठमाडौं– भारतमा जारी वान डे विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले कीर्तीमानी स्कोर बनाएको छ। श्रीलंकालाई दक्षिण अफ्रिकाले जितका लागि ४२९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले ५० ओभरमा पाँच विकेट गुमाउँदै ४२८ रन बनाएको छ। दिल्लीको अरुण जेटली मैदानमा श्रीलंकाले टस जित्दै पहिला फिल्डिङ रोजेको थियो।
दक्षिण अफ्रिकाका ऐडन मार्करमले प्रतियोगिताको इतिहासमै सबैभन्दा छिटो शतक प्रहार गरेर कीर्तिमान कायम रहेका छन्। उनले ४९ बलमै १०० रन पूरा गरे। ऐडनबाहेक रासी वान डरसनले १०८ र क्विन्टन डी ककले शतकीय पारी खेले।
विश्वकपमा पहिलोपटक एकै टिमका तीन जनाले शतक प्रहार गरेका छन्। ऐडनको वान डे करिअरमा यो तेस्रो शतक हो। यस्तै ककले पनि करिअरमा १८ औं शतक पूरा गरे। उनले ८४ बलमा १०० रन पूरा गरेका थिए।
यस्तै रासीले वान डे करिअरमा यो पाँचौं शतक पूरा गरे। उनी ११० बलमा १०८ रन बनाएर आउट भए। रासी र ककले १७४ बलको सामना गर्दै २०४ रनको साझेदारी गरे।
पहिलो पावर प्लेमा दक्षिण अफ्रिकाले औसत सुरुवात गरेको थियो। १० ओभर सकिँदा एक विकेट गुमाएर ४८ रन बनाएको थियो। कप्तान टेम्बा बावुमा ८ बनाएर आउट भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।