काठमाडौं– भृकुटीमण्डपमा बिहीबारदेखि ‘जीएआई फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी-२०२३’ सञ्चालन सुरु भएको छ।
विशेष रूपमा खाद्य, पेय पदार्थ र आतिथ्यमा केन्द्रित यस हस्पिटालिटी नेपालमा सबैभन्दा तीव्र वृद्धिदर भएको यस क्षेत्रको एकमात्र बृहत एक्स्पो भएको आयोजकले जनाएको छ।
जीएआई एफबीएच २०२३ ले लगभग ३० हजार जना आगन्तुकलाई आकर्षित गर्ने अपेक्षा आयोजकले गरेको छ। जसमध्ये जीएआई एफबीएच २०२३ ले लगभग १५ हजार व्यावसायिक आगन्तुकहरूको अपेक्षा राखेको छ।
एक्स्पोमा होटल व्यवसायी, रेस्टुरेन्ट, क्लब , बार, पब, पार्टी-प्यालेस , क्यान्टिन, सुपर-मार्केट, ग्रोसरी मार्ट, किराना–पासल, बेकरी, स्न्याक्स उत्पादक, कृषि खाद्य प्रशोधन उत्पादकहरूका सञ्चालक तथा प्रबन्धकहरू, केटररहरू, शेफहरू, बारटेन्डर र बरिस्टाहरूको सहभागिता रहने छ।
यो एक्स्पो खानपिन केन्द्रित भएकोले उपभोक्ताहरूको पनि बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ। यस मेलामार्फत् आगन्तुकहरुले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरूको बारेमा विस्तृत रुपमा बुझ्न पाउनेछन् भने गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले प्रदर्शकहरुको सङ्ख्यामा पनि वृद्धि हुने आयोजकको भनाइ छ।
मेलामा ५ हजार उत्पादन सेवाहरू, २ सय कम्पनीहरू रहनेछन् भने १ हजार ८०० वर्ग मिटरभन्दा माथिका १५० स्टलहरू सञ्चालन हुनेछन्।
मेलामा कम्पनीहरुले आफ्ना उत्पादनहरुको विशेषता, स्किम वा अफर्स, स्वाद आदिका बारेमा विस्तृत जानकारी दिने भएकाले आगन्तुकहरुका लागि नयाँ खाना र पेय पदार्थहरूको स्वाद लिन यो एक उत्कृष्ट अवसर हुने आयोजकको दाबी छ।
साथै यो कार्यक्रम खाद्य, पेय र आतिथ्यबारे अवलोकन गर्न, अन्तरक्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरूको लागि एउटा महत्पूर्ण स्थान हुनसक्ने आयोजकको विश्वास छ।
आफ्नो व्यापार व्यवसायलाई नयाँ उचाइमा पुर्याउन, जीएआई एफबीएच २०२३ प्रभावकारी सञ्चार र विज्ञापन प्लेटफर्म साबित हुने आयोजकको भनाइ छ। यो एक्सपो २१ असोजसम्म सञ्चालन हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।