काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एसियाली खेलकुद (एसियाड)मा सोचेजस्तो नतिजा आउन नसकेको बताएका छन्। एसियाडमा सहभागी भइ बिहीबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै कप्तान पौडैलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताए।
भारतसँगको खेलमा अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएपछि हार बेहोर्नुपरेको पौडेलको भनाइ छ। विश्व रेकर्ड बन्दा टिम धेरै नै खुसी भएको पौडेलले उल्लेख गरे।
कप्तान पौडेलले आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने बताए। टी–२० विश्वकप छनोटमा ५ वटै खेल फाइनल सरह रहेको उनले उल्लेख गरे।
त्यस्तै, क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुसी भएको बताए। अहिले टिम एकजुट भएर खेलिरहेको ऐरीले उल्लेख गरे। अनुभव बटुल्ने मौका भएकाले आगमी खेलमा झनै राम्रो गर्ने ऐरीले बताए।
एसियाड गेममा सहभागी भइ स्वदेश पर्किएको नेपाली क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो। क्वार्टरफाइनलमा भारतसँग पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो।
पहिलो खेलमा मंगोलियामाथि फराकिलो जित निकालेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई पनि फराकिलो अन्तरले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।