काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित सडक मर्मत, सम्भारका लागि बजेटको अभाव रहेको बताएका छन्।
बजेटको अभावका कारण दसैंअघि नै सडक मर्मत, सम्भार र यातायात व्यवस्थापनको काम भनेजस्तो हुनसक्ने अवस्था नरहेको मन्त्री ज्वालाको भनाइ थियो। बुधबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले दसैंलगायतका चाडपर्व अघि नै सडक र यातायात क्षेत्रको उचित व्यवस्थापनका गर्नका लागि प्रक्रियागत झमेलासमेत रहेको बताए।
भएको सोत र साधनको अधिकतम परिचालन गरी दसैंअघि नै सडक मर्मत र यातायातको आवश्यक व्यवस्था मिलाउनका लागि मातहतका निकायलाई निर्देशन दिइएको मन्त्री ज्वालाको भनाइ छ। उनले काठमाडौं उपत्यकाको खाल्डाखुल्डी भने दसैंअघि नै व्यवस्थापन गरिसक्ने प्रतिबद्धता व्यक्त गरे।
यस्तै दसैंअघि नै बसको टिकटका लागि अग्रिम बुकिङ खुला गर्ने जानकारी दिए। उनले जथाभावी भाडा लिएर यात्रुहरुलाई ठग्ने व्यवसायीमाथि कडा कारबाही गर्ने चेतावनीसमेत दिए।
यात्रुहरुलाई बस भाडामा ठगिन नदिने गरी तीन वटै तहको सरकारले सहकार्य गरेर अनुगमनको कामलाई सशक्त बनाउने उनको भनाइ छ। उनले दसैंअघि नै यातायात क्षेत्रको आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायसँग आफूले छलफल गरिसकेको जानकारी दिए।
बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सरकारले चाडपर्वको मुखमा आएर राजमार्ग मर्मतका लागि बजेटको अभाव छ भनेर गैरजिम्मेवार बन्न नहुने बताए। उनले यात्रुहरुलाई सहज हुने गरी यातायातको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए।
सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूर्वाधार विकासका लागि सरकारले पुँजी नै परिचालन गर्न नसकेको गुनासो गरे। उनले एउटै परियोजनामा अर्व बजेट विनियोजन गर्ने तर त्यसको परिचालन नहुने कुराले मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने भएकोले यसतर्फ गम्भिर बन्न पनि सरकारको ध्यानाकर्षण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।