काठमाडौं– चीनको हाङझाउमा जारी एसियाली खेलकुद (एसियाड)अन्तर्गत पुरुष क्रिकेटमा श्रीलंकालाई पराजित गर्दै अफगानिस्थान सेमिफाइनल प्रवेश गरेको छ। बुधबार बिहान भएको खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ रनले पराजित गर्यो।
टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १८.३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनाएको थियो। ११७ रनको विजयी लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रिएको श्रीलंका १९.१ ओभरमा सबै विकेट गुमाउँदै १०८ रनमा सीमित भयो।
अफगानिस्तानका लागि नरु अली जदरानले सर्वाधिक ५१ रन बनाएका। ओपनर सिदीकुल्लाह अटल मात्र १ रन बनाएर आउट हुँदा अफगानिस्तानका लागि नुरले उत्कृष्ट पारी खेलेका थिए।
दोस्रो विकेटका लागि मोहमद शहजादसँग ५४ रनको साझेदारी गरेका नरुले तेस्रो विकेटका लागि शहिदुल्लाहसँग ३७ रनको साझेदारी गरे। उनी पाँचौं विकेटका रुपमा व्यक्तिगत ५१ रनमा आउट भए। नरु आउट हुँदा टिमको स्कोर ११२ रन रन थियो। थप ४ रन जोड्दासम्म अफगानिस्तान अलआउट भएको थियो।
जवाफी ब्याटिङमा उत्रिएकी श्रीलंका अफगानी बलरसामू निरिह देखियो। सहान अरचिगेले २२ रन बनाउनु बाहेक श्रीलंकाका अरु ब्याटरले राम्रो रन बनाउन सकेनन्।
श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा गुलाबदिन नायब र कैस अहदमले समान ३–३ विकेट लिएका थिए। शराफुद्दीन अशरफ, जाहिर खान र करिम जनतले समान १–१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।