काठमाडौं– चीनको हाङझाउमा जारी एसियाली खेलकुद (एसियाड)को क्वाटरफाइनलअन्तर्गत भारतविरुद्धको खेलमा नेपाल २३ रनले पराजित भएको छ। २०३ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनायो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए। पाँचौं विकेटका रुपमा पेभेलिएन फर्किएका दीपेन्द्रले १५ बलमा ४ छक्का प्रहार गरेका थिए।
यस्तै, कुशल मल्ल र सन्दीप जोराले समान २९–२९ रन बनाए। २२ बल खेलेका कुशल मल्लले २ छक्का र २ चौका प्रहार गरे। सन्दीप जोराले भने १२ बलमा ३ छक्का र १ चौका प्रहार गरे।
यस्तै, कुशल भर्तेलले २८, करन केसीले १८ र आसिप शेखले १० रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेनन्।
नेपालविरुद्ध भारतका रवि विश्नोइ र अभिस खानले ३–३ विकेट लिए। अर्शदीप सिंहले २ तथा साइ किशोरीले १ विकेट लिए।
झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजीको क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको थियो।
भारतका लागि ओपनिङ ब्याट्सम्यान यशस्वी जैसवालले सर्वाधिक १०० रन बनाएका थिए। ४९ बलमा शतक पूरा गरेका जयसवालले ७ छक्का र ७ चौका प्रहार गरे। चौथो विकेटको रुपमा पेभेलियन फर्किएका जैसवाललाई नेपालका अविनाश बोहराले दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट गराएका थिए।
यस्तै, रिंकु सिंहले ३५ र शिवम दुवे २५ रनमा नटआउट रहे। कप्तान ऋतुराज गायकवाडले २५ रन बनाएका थिए।
भारतविरुद्ध नेपालका दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने र अविनाश बोहराले १–१ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।