नेपालविरुद्ध शतक प्रहार गरेका जैसवाल (फाइल तस्बिर)
काठमाडौं– चीनको हाङझाउमा जारी एसियाली खेलकुद (एसियाड)को पहिलो क्वाटरफाइल खेलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ। झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजीको क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनायो।
भारतका लागि ओपनिङ ब्याट्सम्यान यशस्वी जैसवालले सर्वाधिक १०० रन बनाए। ४९ बलमा शतक पूरा गरेका जयसवालले ७ छक्का र ७ चौका प्रहार गरे। चौथो विकेटको रुपमा पेभेलियन फर्किएका जैसवाललाई नेपालका अविनाश बोहराले दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट गराएका थिए।
यस्तै, रिंकु सिंहले ३५ र शिवम दुवे २५ रनमा नटआउट रहे। कप्तान ऋतुराज गायकवाडले २५ रन बनाए।
भारतविरुद्ध दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने र अविनाश बोहराले १–१ विकेट लिए।
नेपाललाई पहिलो सफलता दिलाउँदै दीपेन्द्रसिंह ऐरीले भारतीय कप्तान ऋतुराज गायकवाडलाई रोहित पौडेलको हातबाट क्याचआउट गराएका थिए।
भारतको दोस्रो विकेट लिने क्रममा सोमपाल कामीले तिलक वर्मालाई आउट गराए। १० बल खेलेका वर्मा मात्र २ रन बनाए पेभेलियन फर्किएका थिए।
सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाए। उनले जितेश शर्मालाई आउट गराए। ५ बल सामना गरेका जितेश ४ रन बनाएर पेभेलियन फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।