काठमाडौं- लेनदेन सम्बन्धीको आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसीको बयान गराईँदैछ। उनीमाथि लागेको कसुर सम्बन्धी बयान सकाएर भ्याएसम्म आजै जिल्ला सरकारी वकिल कार्यालयमा फाइल बुझाउने तयारी प्रहरीले गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आजै मुद्दा बुझाउने तयारीका साथ अभिनेता केसीको बयान अहिले भइरहेको छ। ‘उहाँको मुद्दा कुनै ठूलो प्रकृतिको नभई सामान्य रहेकाले सकेसम्म आजै मुद्दा बुझाउने तयारी गरेर हामीले बयानको काम गराइरहेका छौं,’ परिसरका एक अधिकृतले नेपाल लाइभसँग भने।
पक्राउ नै गरेर अनुसन्धान गर्नुपर्ने किसिमको ठूलो मुद्दा नभएकाले सकेसम्म आजै बयान सकाएर मुद्दा बुझाउने तयारी परिसर काठमाडौंको छ।
आजै जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दाको फाइल बुझाए पनि अदालतमा म्याद नटेकुन्जेलसम्म थुनामा राख्नका लागि भने अनिवार्य म्याद थप गर्नुपर्ने कानुनी प्रावधान छ। बयान सके आजै अनुसन्धान प्रतिवेदन बुझाउँदै म्याद हुने नत्र म्याद मात्रै थपका लागि अदालतमा केसीलाई उपस्थित गराउनुपर्ने हुन्छ।
‘रावायण’ फिल्म खेल्नका लागि भनेर रकम लिएर फिल्म नलेखेको भन्ने आरोप केसीमाथि लागेको छ।
आपराधिक विश्वासघात गरेको आरोपमा सुदर्शन थापा प्रोडक्सन नामक फिल्म कम्पनीले केसी विरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयमा उजुरी दिएको थियो। त्यसपछि अपराध अनुसन्धान कार्यालयले केसीलाई भक्तपुरको साँगाबाट शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको थियो।
पक्राउपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै उनी अस्पताल भर्ना भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।