काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिजको आयोजना गर्ने भएको छ।
मंगलबार बसेको क्यानको कार्यसमिति बैठकले एसीसी मेन्स टी–२० विश्वकप तयारीका लागि तीन देशबीच सिरिज आयोजना गर्ने निर्णय गरेको हो।
क्यानले अक्टुबर १६ देखि २६ सम्म काठमाडौंमा थ्री नेसन्स सिरिज टी–२० आई प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।
यस्तै क्यानले पाँच अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा उपाध्यक्ष रोशन कुमार सिंह, सचिव पारस खड्का, कोषाध्यक्ष पदमबहादुर खड्का र सदस्य दिवाकर घले रहनेगरी पाँच सदस्यीय कार्य सम्पादन समिति गठन गर्ने निर्णय पनि गरेको छ।
यसवर्ष प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता सात प्रदेश र तीन विभागीय टोली गरी १० टिमबीच राउण्ड रोविन लिगको आधारमा सञ्चालन गर्ने, सेमिफाइनल दुई दिवसीय लिग र फाइनल खेल ३ दिवसीय ढाँचामा सञ्चालन गर्ने निर्णय गरिएको क्यानले जनाएको छ।
यस्तै हरेक प्रदेशमा एक/एक खेल मैदानमा पिच निर्माण गरी प्राविधिक जनशक्ति र आवश्यक खेल मैदान सामग्रीको प्यवस्था गर्ने र सबै प्रदेशको प्रतिनिधित्व रहनेगरी १० जनालाई क्यूरेटर तालिम प्रदान गर्ने निर्णय गरिएको छ।
यसका साथै नेपाल प्रिमियर लिग क्यान आफैंले आगामी वर्षको मार्च/अप्रिलमा आयोजना गर्ने र त्यसका लागि तयारी सुरु गर्ने निर्णय क्यानले गरेको छ। अन्य फ्रेन्चाइजी लिग क्रिकेट प्रतियोगिताहरुमा विदेशी देलाडीबिना घरेलु लिगको रुपमा सञ्चालनको अनुमति प्रदान गर्ने र इपीएलबाट विदेशी खेलाडीसहितको एभरेष्ट प्रिमियर लिग आयोजनाका लागि प्राप्त भएको प्रस्तावबारे छलफल गरिएको थियो। त्यसमा नेपाल प्रिमियर लिग सम्पन्न भएपछि आगामी बोर्ड बैठकबाट छलफल गरेर आयोजना गर्न दिने सहमति भएको सचिव पारस खड्काले बताए।
यस्ता छन् क्यानको बैठकका निर्णयहरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।