काठमाडौं– सरकारी पक्षले शिक्षकहरुको आन्दोलन फिर्ता हुने दाबी गरेको छ। शुक्रबार सिंहदरबारमा भएको वार्तामा सहमति जुटेको र सहमति जुटिसकेका कारण शिक्षकहरुको आन्दोलन फिर्ता हुने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
सञ्चारमन्त्री शर्माले शिक्षकहरुको आन्दोलन भोलि (शनिबार)बाट फिर्ता हुने बताइन्। सरकारसँग वार्ता सफल भइसकेकोले अब आन्दोलनको औचित्य नरहेको शर्माको भनाइ छ।
शुक्रबार अपराह्न आन्दोलनरत शिक्षक र सरकारी पक्षबीच सिंहदरबारमा वार्ता भएको थियो। वार्तामा शिक्षकका मागहरु सम्बोधन गर्ने गरी संसद्मा सहजीकरण गर्ने प्रतिबद्धता सरकारी पक्षले जनाएको छ।
सरकारी प्रतिबद्धतामा आन्दोलनरत शिक्षकहरु पनि सहमत भएका छन्। सहमतिपछि शिक्षकहरुको आन्दोलन फिर्ता हुने मन्त्री शर्माको भनाइ छ।
‘आन्दोलन फिर्ता हुन्छ। भोलि (शनिबार)देखि आन्दोलन फिर्ता हुन्छ। वार्ता गरेर समझादारीमा पुगिसकेपछि आन्दोलन गरिराख्ने कुरा भएन,’ मन्त्री शर्माले भनिन्।
सरकार र शिक्षकहरुबीच भएको सहमतिलाई बुँदागत रुपमा उल्लेख गर्ने तथा अन्तिम रुप दिने कार्य भइरहेको मन्त्री शर्माको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।