काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको लागि उपयुक्त वातावरण र सम्भावना भएकोले लगानी विस्तारका लागि गैरआवासीय नेपालीहरूलाई आग्रह गरेका छन्।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा बुधबार जापानको टोकियोमा ‘नेपालमा लगानीको सम्भावना र गैरआवासीय नेपाली संघको भूमिका’ विषयक अन्तर्क्रियामा अध्यक्ष ढकालले नेपालको कुनै पनि क्षेत्रमा व्यवसायका लागि प्रचुर सम्भावना रहेकोले ढुक्क भएर लगानी गर्न आग्रह गरे।
विदेशमा बस्ने नेपालीलाई नेपालमा लगानीका लागि आश्वस्त पार्दै उनले भने, ‘नेपालमा लगानीको वातावरण छैन भन्नु तथ्यहीन र वास्तविकतामा आधारित छैन। नेपालमा लगानी लागि उपयुक्त वातावरण छ। ढुक्कले जुनासुकै क्षेत्रमा लगानी गर्नुहोस्।’
नेपालमा जलविद्युत, पर्यटन, कृषि, पशुपालन र सेवामुलक क्षेत्रमा व्यापक सम्भावना भएको रहेको उल्लेख गर्दै उनले मुख्य त पर्यटनको क्षेत्रमा धेरै नै सम्भावना रहेको बताए। ‘टुरिजमको क्षेत्रमा नेपालमा धेरै नै सम्भावना छ। त्यसैले म पनि एग्रेसिभली टुरिजम क्षेत्रमा लागेको छु,’ उनले भने, ‘नेपाल भारत र चीनको बीचमा हुनु पर्यटन व्यावसायका लागि अति लाभदायी छ। जसले गर्दा धार्मिक हिसाबले लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ, सागरमाथा, हिमालको ट्रेकिङ हरेक कोणबाट टुरिजमको एकदमै सम्भावना छ।’
आफूले नेपालका ७ वटै प्रदेशमा केबलकार सञ्चालन गर्ने योजनासहित काम गरिरहेको बताउँदै उनले एकीकृत पर्यटकीय संरचनामा यसले सघाउ पुर्याउने उल्लेख गरे। बुटवल-पाल्पा, नवलपुर, चन्द्रागिरिमा केबलकार सञ्चालनमा आइसकेको जानकारी गराउँदै उनले अब सिक्लेस, कर्णालीको चिसापानी र पाथिभरामा सञ्चालनको लागि तयारी भइरहेको बताए।
विकसित देशमा प्रयोगमा आएको एग्रो प्रविधिलाई नेपालमा उपयोग गर्दै छोटो दूरीको उडान भएका देशमा निर्यात गरिनुपर्ने धारणा उनले राखे। यसको लागि लगानी जुटाउन तथा प्रविधि भित्र्याउन गैरआवासीय नेपाली संघले विभिन्न मुलुकमा रहेका नेपाली व्यवसायीहरुको पुँजी लगानीको लागि विशेष पहल गर्न आह्वान समेत गरे।
गैरआवासीय नेपालीहरूसँगको सहकार्यमा आइईएमई ग्रुपले जलविद्युत्, पर्यटन पूर्वाधार तथा अन्य धेरै क्षेत्रमा सहकार्य गरिसकेको बताउँदै ढकालले नयाँ व्यवसायी क्षेत्रमा लगानी र प्रविधि भित्र्याउन सकियो भने आफ्नो देशलाई योगदान गर्नुका साथै उल्लेख रुपमा मुनाफा पनि लिन सकिने उल्लेखग रे।
कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठलगायतले विदेशमा रहेका नेपालीले विदेशमा अलिअलि गरेर जम्मा गरेको रकमलाई नेपालमा सही ठाउँमा लगानी गर्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।