काठमाडौं- चेक रिपब्लिक पठाइदिन्छु भनी ४० लाभन्दा बढी रकम ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले प्रहरी प्रभाग बुढानिलकण्ठको समन्वयमा बिहीबार झापा घर भइ नयाँबानेश्वर बस्ने अमृत कार्की र अशोक कार्कीलाई पक्राउ गरेको हो। उनीहरूविरुद्ध प्रतिव्यक्ति ८ लाखका दरले ४० लाख ८४ हजार रकम ठगेको उजुरी परेको थियो।
वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक पठाइदिन्छु भनेर ५ जनालाई ठगी गरेको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी रवीन्द्र रेग्मीले जानकारी दिए।
ओरा करियर नामको कन्सल्टेन्सी खोलेर ठगी गरेको प्रहरीले जनाएको छ। चेक रिपब्लिक पठाएर मासिक १ लाख रुपैयाँ तलबमा काम लगाउने भनी प्रलोभनमा पारी रकम ठगीपश्चात् उनीहरू सम्पर्कविहीन भएको पीडितहरूले उजुरी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।