काठमाडौं– विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा आन्दोलनरत शिक्षक र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ। बिहीबार दोस्रो दिन काठमाडौंको माइतीघरबाट जुलुस सुरु गरेर नयाँ बानेश्वरमा पुगेका शिक्षकहरु र सुरक्षाकर्मीबीच धकेलाधकेल सुरु भएको हो।
शिक्षकहरुले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीले रोक्न खोजेका थिए। त्यसक्रममा केही समय धकेलाधकेल भएको प्रहरीले जनाएको छ।
हाल संसद्मा रहेको विधेयकका कतिपय प्रावधानहरु अपमानित भएको भन्दै शिक्षकहरु बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। उनीहरुले बुधबार पनि काठमाडौंमा प्रदर्शन गरेका थिए।
बिहीबार बिहान सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता भएपनि विनाकुनै निष्कर्ष सकिएको थियो। वार्ताका क्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले निषेधित क्षेत्रमा नपस्न शिक्षकहरुलाई आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।