काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्र नभई जीवन दर्शन र संस्कार बनाएर गणेशमान सिंहले देखाएको बाटोमा हिँड्न सके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन्।
नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा वरिष्ठ नेता सिंहको व्यक्तित्व र योगदानलाई चीरस्मरणीय बनाउन भक्तपुरको कटुञ्जेमा निर्माण गरिएको गणेशमान बाटिकामा रहेको सिंहको पूर्णकदको शालिक मंगलबार अनावरण गर्दै राष्ट्रपति पौडेलले उक्त धारणा राखेका हुन्।
‘त्याग, आदर्श र निष्ठाको राजनीतिलाई मन, वचन र कर्मले गणेशमानजीले निर्वाह गर्नुभएको काम सबैका लागि सँंधै प्रेरणा बन्नेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने, ‘राजनीतिलाई सत्ता र शक्तिको साधन होइन राष्ट्रनिर्माणको लागि जीवन समर्पित गर्ने आदर्श, त्याग र निष्ठाको निष्काम कर्म हो भनेर प्रमाणित गर्ने गणेशमानजीको यही जीवन दर्शनको सन्देश हामीले वर्तमान र भावी पुस्तासम्म पुर्याउन सक्नुपर्छ।’
गणेशमानसँगको साथ र सान्निध्यता स्मृतिमा ताजै रहेको बताउँदै उनले त्यसले आफूलाई सधैँ सत्य, निष्ठा र आदर्शको बाटोमा हिँड्न अभिप्रेरित गरिरहेको उनले बताए।
यस्तै उक्त कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले बाटिकाको बाँकी काम सम्पन्न गर्न सरकारले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
त्यसैगरी सांसद प्रकाशमान सिंहले राजनीतिक परिवर्तनलाई दिगो बनाउनका लागि आर्थिक विकास अपरिहार्य रहेको भनेर गणेशमानले २०४६ सालपछि भनेको कुरा अझै सान्दर्भिक रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।