काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले धर्मको राजनीति गर्नेहरूलाई निषेध गर्नपर्ने बताएका छन्। राष्ट्रिय समाचार समितिलाई दिएको अन्तर्वार्तामा उनले धर्म व्यक्तिको आस्थाको कुरा भएको बताएका हुन्।
‘धर्म व्यक्तिको आस्थाको कुरा हो, यसलाई सम्मान गर्ने विषय रहन्छ तर धर्मको राजनीति गर्नेहरू प्रतिगामी सोच राख्ने शक्ति छन्, तिनलाई बेलैमा चिनेर निषेध गर्नुपर्छ,’ उनले भनेका छन्।
उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र आधुनिक युगका लोकतन्त्रका आधारभूत मान्यता भएको र नेपाली संविधानका महत्वपूर्ण चार खम्बा भएको बताएका छन्। यीमध्ये एउटा खम्बा भत्काइयो भने लोकतन्त्र नै नरहने उनको भनाइ छ।
‘खासगरी राजतन्त्रवादी शक्तिले जनताको पिछडिएको चेतनाको दोहन गरेर हल्ला गरेका हुन्। ‘सिधै राजा ल्याऊ’ भन्दाखेरि त जनतामा ‘पपुलर हुन’ सकिँदैन, नेपाल बहुधार्मिक मुलुक हो, यहाँ हिन्दू, बौद्ध, मुस्लिम, किराँत, बोनलगायत थुप्रै धर्मावलम्बी छन्। तीमध्ये हिन्दूको संख्या अलि बढी छ, त्यसैले उनीहरूले हिन्दूमा त्यस खालको भय सिर्जना गरेर यो संविधान भत्काउनका निम्ति धार्मिक मुद्दा उठाएका छन्। यसलाई बेलैमा बुझ्नुपर्छ,’ धर्मको विषय उठाउने प्रति उनको कटाक्ष छ।
पूरा अन्तर्वार्ता पढ्नुहोस्- ‘संविधानको सकारात्मक पक्षको रक्षा गर्दै अपूर्णता पूरा गर्नुपर्छ’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।