काठमाडौं– नेकपा एकीकृत समाजवादीले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)का सन्दर्भमा पार्टीभित्र असन्तुष्टि व्यक्त भइरहेका छन्। अध्यक्ष माधवकुमार नेपालले आफू निकटका नेताहरूलाई पदैपद दिएको भन्दै पार्टीका फरक समूहले प्रश्न उठाइरहेका छन्।
प्रश्न उठाइएका र पदैपद पाउने एक जना नेता हुन्- लक्ष्मण केसी। शिक्षा क्षेत्रमा केसीको परिचय प्रेसिडेन्सियल बिजनेस स्कुलका संस्थापक तथा कार्यकारी अध्यक्षको रुपमा छ। पार्टीभित्र भने माधव नेपालका विश्वास पात्र हुन्।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी सदस्य रहेका केसीलाई विभिन्न जिम्मेवारीहरू दिइएको देखिन्छ। जसलाई अन्य नेताहरूले शंकाको दृष्टिले हेरेका छन्।
केसी शिक्षा विभाग प्रमुख बनाइएका छन्। त्यस्तै, सम्पर्क विशेष प्रदेशका सहइन्चार्ज पनि बनाइएका छन्। त्यस्तै, महाधिवेशनको लागि समेत आर्थिक संकलन गर्ने कामका लागि गठन गरिएको आर्थिक समितिका सदस्य पनि हुन्, केसी। सो पार्टीले आगामी माघ १४ देखि १८ सम्ममा दशौं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसका लागि माधव नेपालनिकट नेता प्रमेश हमालको संयोजकत्वमा सो समिति गठन गरिएको हो।
केसीलाई कमिटी अद्यावधिक र सदस्यता नवीकरण तथा वितरण कार्यको संगठन विभागबाट अनुगमन गर्नका लागि लुम्बिनी प्रदेशको जिम्मेवारी दिइएको छ। उनी संगठन विभागका सचिव समेत हुन्।
‘उहाँ (केसी) अध्यक्ष नेपाल निकट हुनुहुन्छ। विभिन्न कोणबाट सहयोग गर्नुहुन्छ भन्ने सुनिएको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘त्यसैले उहाँलाई पदैपद दिइनु स्वाभाविक हो। तर पद पाउनुपर्ने योग्यताचाहिँ थाहा छैन। अध्यक्ष निकट हुनु नै योग्यता होला।’
अन्य जिम्मेवारीमा पनि अध्यक्ष नेपालले आफू निकटका नेता रोज्ने गरेको उनको भनाइ छ। ‘माधव नेपाल निकट भएपछि के हुन्छ भन्ने म अर्को पनि उदाहरण दिन्छु,’ ती केन्द्रीय सदस्यले भने, ‘स्थायी कमिटी सदस्य कल्याणी खड्कालाई नेपाल दलित मुक्ति संगठनको इन्चार्ज बनाइएको छ। त्यो संगठनको जिम्मेवारी त कोही दलित समुदायकै व्यक्तिलाई दिइएको भए पनि हुने नि। तर दिनुभएन।’
खड्का २०७४ को प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट खसआर्य (महिला) तर्फबाट समानुपातिक सांसद भएकी थिइन्। एमाले विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि भने उनी सोही पार्टीतिर लागेकी थिइन्।
खड्काले नेतृत्व गरेको संगठनमा ३ जनालाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ। पोलिटब्यूरो सदस्य गणेश विक, केन्द्रीय कमिटी सदस्यहरू मिना परियार र कृष्णाकुमारी विकलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।