काठमाडौं– क्रिकेटमा टिमहरुबीच प्रतिस्पर्धा मात्र होइन, हार्दिकता पनि हुन्छ भन्ने सन्देश सोमबार नेपाल–भारतबीच भएको प्रतिस्पर्धा पछिको एउटा दृश्यले ‘प्रमाणित’ गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)को फेसबूक पेजमा एउटा भिडिओ सार्वजनिक भएको छ– जहाँ भारतीय खेलाडीले नेपाली खेलाडीलाई मेडल लगाइदिएको देखिन्छ।
भारतीय क्रिकेट टिमका स्टार खेलाडी विराट कोहली, हार्दिक पाण्ड्या र प्रशिक्षक राहुल द्रविडले नेपाली खेलाडीलाई मेडल लगाइदिएको दृश्य भिडियोमा देख्न सकिन्छ।
विराट कोहलीले आसिफ शेख, हार्दिक पाण्ड्याले सोमपाल कामी र भारतीय टिमका प्रशिक्षक राहुद द्रविडले दीपेन्द्र सिंह ऐरीलाई मेडल लगाइदिएका हुन्।
भारतका पूर्वक्रिकेटर समेत रहेका नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक मोन्टी देसाइले नेपाली टिममा अहिले ‘ह्याप्पी ड्रेसिङ रुम’को अवधारणा लागू गरेका छन्। जसअनुसार उनले खेलपछि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न किसिमबाट सम्मान गर्ने गरेका छन्।
प्रशिक्षक देसाइको ‘ह्याप्पी ड्रेसिङ रुम’को अवधारणाअनुसार नै भारतीय खेलाडी र प्रशिक्षकबाट नेपाली खेलाडीलाई सम्मानित गरिएको हो। जहाँ प्रशिक्षक देसाइले सोमपाल कामीलाई ‘स्टार अलराण्डर’ र दीपेन्द्रसिंह ऐरीलाई ‘स्टार फिल्डर’को रुपमा चिनाएका थिए।
एसिया कप क्रिकेटमा सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो। जुन खेलमा नेपालले ’उत्कृष्ट प्रदर्शन’ गरेको भन्दै प्रशंसा भइरहेको छ। खेल भने भारतले १० विकेटले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।