काठमाडौं– आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
मलेसियाको बांगीमा सोमबार भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो। यसअघि नेपालले घरेलु टोली मलेसियालाई ५ रन, बहराइनलाई १० विकेट र भुटानलाई ३ विकेटले पराजित गरेको थियो।
समूह ‘ए’ बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो। जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछाएको नेपालले १०.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन्। उनले २८ बलमा ४ चौकासहित ३२ रन जोडेकी हुन्। त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहिन्। सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहिन्।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनको योगफल बनाएको थियो। कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन्। त्यस्तै एलिना खानले १५, एन्जिली मारेले अविजित १४ तथा कप्तान आयशाले १० रन बनाइन्।
नेपालका लागि इन्दु बर्माले ३ विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान १–१ विकेट लिए। नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।