टप अर्डरका ब्याटर नचलेपछि पाकिस्तानविरुद्धको ब्याटिङ इनिङ सम्हालेका भारतीय ब्याटर इसान किसन र हार्दिक पाण्ड्या।
काठमाडौं– जारी एसिया कपमा भारतले आफ्नो दोस्रो खेल खेल्दैछ। भारतले सोमबार श्रीलंकाको पल्लेकेले क्रिकेट रंगशालामा नेपालको सामना गर्नेछ।
पहिलो खेल पनि पल्लेकेले रंगशालामै खेलेको भारतले पाकिस्तानसँग अंक बाँड्नु परेको थियो। एसिया कप उपाधिको दाबेदार मानिएको भारतले पहिलो खेलमा पाकिस्तानसँग अपेक्षित प्रदर्शन गर्न सकेन।
खास गरेर टप अर्डरका ब्याट्सम्यान सस्तैमा आउट हुँदा भारतले पाकिस्तानसँग दबाबमुक्त भएर खेल्न सकेन।
व्याटरहरुको प्रदर्शनलाई लिएर प्रशिक्षक राहुल द्रविड ढुक्क हुन सकेका छैनन्। पाकिस्तानसँगको खेलमा इशान किसन र हार्दिक पाण्ड्याले मध्यक्रम सम्हालेका कारण भारतले सम्मानजनक स्कोर वनाएको थियो।
नेपालसँगको खेलमा पनि टप अर्डरमा रहेका ब्याटरहरुको पर्दशनलाई लिएर कोच द्रविड चिन्तामा छन्। त्यसो त भारतले एसिया कपलाई विश्वकपको तयारीको रुपमा पनि लिएको छ। एसिया कपमा एक्लै खेल जिताउने क्षमता राख्ने रोहित शर्मा, विराट कोहली, शुभमन गिल र श्रीयस अय्यरलाई लयमा फर्काउनु भारतका लागि चुनौती छ। उनीहरु लयमा फर्केमा जुनसुकै टोलीसँग पनि खेल जित्ने भारतीय प्रशिक्षक द्रविडको दाबी छ।
पाकिस्तानसँग किसन र पाण्ड्याले १३८ रनको साझेदारी गर्नु बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन नगरेका कारण भारतीय प्रशिक्षकका लागि अबको तयारी झन् चुनौतीपूर्ण बनेको हो।
पाकिस्तान विरुद्धको खेलमा भारतीय टोलीले टस जितेर ब्याटिङ रोजेको थियो। मौसमको प्रतिकूलतालाई ख्याल राख्दै पहिले ब्याटिङ गरेको भारतले ६६ रन वनाउँदा टप अर्डरका ४ ब्याट्सम्यान गुमाएको थियो। कप्तान रोहित शर्मा ११, विराट कोहली ४, शुभमन गिल १० र श्रेयश अय्यर १४ रन मात्र बनाएर आउट भएका थिए।
भारतका लागि नेपाली बलर पनि चुनौती बन्न सक्छन्। तर नेपालका लागि चुनौती बन्ने तीव्र गतिका बलर जसप्रित बुमराह भने खेलमा हुने छैनन्। व्यक्तिगत कारणले मुम्बई फर्केका कारण बुमराहले सोमबार नेपालसँगको खेल गुमाउने भएका छन्।
नेपालले पहिलोपटक भारतको सिनियर टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले भारतको यु–१९ र ‘ए’ टिमसँग भने विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरेको छ।
पहिलोपटक भारतविरुद्ध मैदान उत्रिन लागेको नेपालले टस जितेको खण्डमा पहिले बलिङ गर्ने सम्भावना बढी छ। पहिले बलिङ गरेको खण्डमा भारतीय टिमको टप ब्याटिङ अर्डर भत्काउन सके नेपालले अपेक्षित नतिजा आफ्नो पक्षमा पार्ने सम्भावना छ।
यद्यपि नेपाल र भारतबीचको खेल वर्षाले प्रभावित हुने सम्भावना पनि उच्च छ। एक्युवेदरले श्रीलंकाको मौसम विभागलाई उद्घृत गर्दै सोमबार बिहान ८ बजेदेखि नै पानी पर्ने सम्भावना रहेको जनाएको छ। वर्षा रातिसम्मै जारी रहन सक्ने बताइएको छ। सोमबार त्यहाँको तापक्रम २७ डिग्री सेल्सियसदेखि २१ सम्म रहने बताइएको छ।
वर्षाका कारण खेल रद्द भएको अवस्थामा नेपाल र भारतले अंक बाँड्नुपर्नेछ। अंक बाँड्नु परेको अवस्थामा भारत स्वत: सुपर–फोरमा पुग्नेछ।
यसअघि पाकिस्तानसँगको खेल हारेको नेपाल अंकतालिकाको पुछारमा छ। पाकिस्तान ३ अंकसहित सुपर–फोरमा पुगिसकेको छ। भारत एक अंकसहित दोस्रो नम्बरमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।