काठमाडौं– भारतीय क्रिकेट टिमका तीव्र गतिका बलर जसप्रित बुमराहले एसिया कपमा नेपालविरुद्धको खेल नखेल्ने भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार बुमराहले व्यक्तिगत कारणले सोमबार नेपालविरुद्धको खेल गुमाउने भएका हुन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) स्रोतलाई उद्धृत गर्दै दैनिक भास्करले लेखेको छ, ‘बुमराह पारिवारिक कारणले श्रीलंकाबाट मुम्बई फर्किएका छन्। यद्यपि उनी पूर्ण रुपमा फिट छन् र सुपर–फोर स्टेजका म्याचका लागि श्रीलंका फर्किनेछन्।’
बुमराहको विषयलाई लिएर बीसीसीआईले भने कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
जारी एसिया कपमा नेपाल र भारतले सोमबार दोस्रो खेल खेल्न लागेका हुन्। नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो। भारत र पाकिस्तानको खेल भने वर्षाका कारण स्थगित भएको थियो। वर्षाका कारण स्थगित भएपछि पाकिस्तान र भारतले १–१ अंक बाँडेका थिए।
सोमबार हुने खेलमा नेपाल र भारत जसले जित्छ, त्यही टिम सुपर–फोरमा पुग्नेछ। पाकिस्तान भने सुपर–फोरमा प्रवेश गरिसकेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार नेपालविरुद्धको खेलमा बुमराह अनुपस्थित हुने भएपछि मोहम्मद शमीलाई उनको स्थानमा खेलाइने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।