नेपाली राष्ट्रिय क्रिकेट टोली (फाइल तस्बिर)
काठमाडौं– एसिया कप २०२३ अन्तर्गत नेपाल र भारतबीच सोमबारका लागि तय खेल वर्षाका कारण रद्द हुने सम्भावना उच्च रहेको मौसम विज्ञानले जनाएको छ। श्रीलंकाको क्यान्डीको पल्लेकेल स्टेडियममा सोमबार दिउँसो सवा ३ बजे सुरु खेलका बीच पर्ने सम्भावना ८९ प्रतिशत रहेको बताइएको छ।
एक्युवेदरले श्रीलंकाको मौसम विभागलाई उद्घृत गर्दै सोमबार बिहान ८ बजेदेखि नै पानी पर्ने सम्भावना रहेको जनाएको छ। वर्षा रातिसम्मै जारी रहन सक्ने बताइएको छ। सोमबार त्यहाँको तापक्रम २७ डिग्री सेल्सियसदेखि २१ सम्म रहने बताइएको छ।
यही स्टेडियममा यसअघि शनिबार भारत-पाकिस्तागनबीच भएको खेल पनि वर्षाका कारण रद्द भएको थियो। पहिलो इनिङ्समा ब्याटिङ गरेको भारतले २६६ रन बनाएको थियो, तर पाकिस्तानले ब्याटिङ नै गर्न नपाइ खेल रद्द भएको थियो। वर्षाका कारण खेल रद्द भएपछि दुबै टोलीले एक-एक अंक बाँडेका थिए।
नेपाल सुपर ४ मा जान भारतसँगको खेल जित्नैपर्ने दबाबमा छ। तर, भारतलाई भने खेल रद्द हुँदा समेत सुपर ४ मा जाने अवसर छ। यसअघि पाकिस्तानसँगको खेल हारेको नेपाल अंकतालिकाको पुछारमा छ भने पाकिस्तान ३ अंकसहित सुपर ४ मा पुगिसकेको छ। भारत एक अंकसहित दोस्रो नम्बरमा छ। नेपालको सिनियर टोलीले पहिलोपटक भारतीय सिनियर टोलीसँग सोमबार क्रिकेट खेल्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।