काठमाडौं- श्रीलंकाको क्यान्डीमा केहीबेरमा सुरु हुने भारत र पाकिस्तानबीचको खेलमा मौसम बाधक हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमानका अनुसार खेलकै समयमा पानी पर्ने सम्भावना ८१ प्रतिशत रहेको छ।
अहिले क्यान्डीमा बादल बढ्ने क्रम जारी रहेको छ। दिउँसो साढे २ बजेसम्म पानी पर्ने सम्भावना ६४ प्रतिशत छ।
यसैगरी राति १० बजेसम्म पानी पर्ने सम्भावना भने ३५ प्रतिशत छ। शनिबार बिहान भने बादलसँगै केही ठाउँमा खुला आकाश देखिएको थियो। यसले मौसम सुधार हुने आशा गरिएको थियो।
भारत र पाकिस्तानका प्रशंसक पानीले खेल नबिथोलियोस् भन्ने कामना गरिरहेका छन्। खेलको रमाइलो लिन ठूलो संख्यामा दर्शक श्रीलंका पुगेका छन् भने देशका विभिन्न ठाउँमा ठूलो पर्दाको बन्दोबस्तसमेत गरिएको छ।
वर्षाकै कारण टस तोकिएको समयभन्दा ढिलो हुनसक्ने पनि बताइएको छ। एक्युवेदर वेबसाइटका अनुसार टसकै समयमा पानी पर्ने सम्भावना ४०-६० प्रतिशत छ। बिहीबारदेखि त्यहाँ पानी परेको थिएन तर शनिबार बेलुकी भने मौसम सफा हुने सम्भावना निकै न्यून देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।