काठमाडौं– आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत शुक्रबार बहराइनसँग भएको खेलमा नेपाल १० विकेटले विजयी भएको छ। बहराइनले दिएको झिनो अंकको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३ ओभर पनि नखेली १० विकेटको जित निकाल्यो।
मलेशियाको क्वालालम्पुरमा शुक्रबार भएको खेलमा बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २.५ ओभरै पूरा गरेको हो। नेपालका लागि ओपनर ब्याटर कविता कुँवरले १७ र सीता राना मगरले २ रन बनाइन्। अतिरिक्त १३ रन जोड्दै नेपालले जित हासिल गर्यो।
यसअघि ब्याटिङ गरेको बहराइन १५.४ ओभरमा ३१ रनमै अलआउट भएको थियो। बहराइनका लागि दीपिका रशंगिकाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका लागि इन्दु बर्माले ३, खुशी डंगोलले २, कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले १–१ विकेट लिए।
प्रतियोगिताअन्तर्गत शुक्रबार नेपालले दोस्रो जित निकालेको हो। नेपालले यसअघि मलेसियालाई ५ रनले पराजित गरेको थियो। शुक्रबार बहराइनसँग निकालेको जितसँगै नेपालले ४ अंक जोडेको छ।
समूह ‘ए’मा रहेको नेपालले अब यूएई, कतार र भुटानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताका शीर्ष दुई टोली विश्वकपको ग्लोबल छनोट खेल्न पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।