काठमाडौं- एशिया कप २०२३ मा नेपालविरुद्ध पाकिस्तानका कप्तान बाबर आजमले शतक बनाएका छन्। ५.३ ओभरको समाप्तिमा पाकिस्तानले २१ रन बनाएर दुई विकेट गुमाएको अवस्थामा क्रिजमा आएका उनले सम्हालिँदै पाकिस्तानलाई बलियो स्कोरतिर अघि बढाएका हुन्।
आजमले शतक बनाउने क्रममा १०९ बल खेल्दै १० चौका प्रहार गरेका छन्। उनलाई अहिले इफ्तिखार अहमदले अर्धशतकसहित साथ दिइरहेका छन्।
एकदिवसीय क्रिकेटमा यो उनको १९औँ शतक हो। यो शतकसँगै बाबर सबैभन्दा कम इनिङ्समा १९ ओडीआई शतक बनाउने ब्याट्सम्यान पनि बनेका छन्। बाबरको यो १०२औँ इनिङ्स हो। यो शतकसँगै बाबरले दक्षिण अफ्रिकाका हाशिम अमलाको रेकर्ड तोडेका छन्। अमलाले १०४ इनिङ्समा १९ औँ शतक बनाएका थिए। सन् २०१९ को विश्वकपपछि बाबर आजमले ९ शतक प्रहार गरेका छन्। यो मामिलामा पनि उनी वेस्ट इन्डिजका शाई होपसँग शीर्ष स्थानमा छन्।
अब उनी पाकिस्तानका सइद अनबरले बनाएको रेकर्ड तोड्ने लाइनमा छन्। सइदले २५७ ओडीआई खेलमा २० शतक प्रहार गरेका थिए। अफगानिस्तानविरुद्धको पछिल्लो एकदिवसीय शृंखलामा बाबरले दुई अर्धशतक बनाए पनि शतक बनाउन सकेनन् । सन् २०१५ मा राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनको यो १०४औँ खेल हो।
४१.४ ओभरको समाप्तिमा पाकिस्तानले ४ विकेट गुमाएर २२८ रन बनाएको छ। यसअघि उनीसँग राम्रो साझेदारी गरिरहेका मोहम्मद रिजावान ५० मा ४४ रन बनाएर दिपेन्द्र सिंह ऐरीबाट रनआउट भए ।
नेपालका लागि करण केसीले एक र सन्दिप लामिछानेले एक विकेट लिएका छन् भने दुई खेलाडिलाई नेपालले रनआउट गरेको हो। करण केसीले फकर जमानलाई आसिफ शेखबाट क्याचआउट गराएका हुन् भने लामिछानेले आघा सलमानको विकेट पतन गराए।
एकदिवसीय क्रिकेटको वरीयतामा पहिलो नम्बरमा रहेको पाकिस्तानसँग १५ औं नम्बरको नेपालले पहिलोपटक प्रतिष्पर्धा गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।