काठमाडौं– पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले नेपाललाई हलुका रुपमा नलिएको बताएका छन्। बुधबार एसिया कप २०२३ को सुरुवाती खेलमा नेपालविरुद्ध भिड्न लागेको पाकिस्तानी टिमका विषयमा कुरा गर्दै उनले यस्तो बताएका हुन्। नेपालसँग राम्रा खेलाडी रहेको बताउँदै आफूहरुले त्यही अनुसारको तयारी गरेको उनको भनाइ छ।
पाकिस्तानको मुल्तान स्टेडियममा नेपाली समयानुसार दिउँसो ३ बजेदेखि एसिया कप २०२३ सुरु हुनेछ। त्यसको तयारीका क्रममा पाकिस्तान क्रिकेटसँग बोल्दै उनले भने, ‘हामी नेपालविरुद्धको खेलमा केन्द्रित छौं। उनीहरुसँग राम्रो खेलाडीहरुको छन्। त्यसैले हामीले उनीहरुलाई हलुका रुपमा लिएका छैनौं। हाम्रो राम्रो क्रिकेट खेल्ने प्रयासमा हुनेछौं।’
एकदिवसीय वरीयतामा पहिलो नम्बरमा रहेको पाकिस्तानसँग १५औं वरीयताको नेपालले पहिलोपटक आमने सामने हुने मौका पाएको हो। यसअघि कुनैपनि फर्म्याटका खेलमा पाकिस्तानसँग भेट भएको छैन।
बाबर आजमको कप्तानी र सादब खानको उपकप्तानीमा नेपालविरुद्धको प्लेइङ ११ घोषणा भइसकेको छ। नेपालले अझै प्लेइङ ११ घोषणा गरिसकेको छैन।
पाकिस्तानी प्लेइङ–११
बाबर आजम (कप्तान), सदाब खान (उपकप्तान), फकर जमान, इमाम–उल–हक, सलमान अली अघा, इफ्तिखर अहमद, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद नवाज, नसिम साह, साहिनसाह अफ्रिदी, ह्यारिस रौफ।
नेपालको प्लेइङ–११ (सम्भावित)
कुशल भुर्तेल, आसिफ सेख (विकेटकिपर), भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।