काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एसिया कप क्रिकेटमा सबै नेपालीको भरोसा सन्दीप लामिछानेमाथि रहेको बताएका छन्। आफूविरुद्धको बलात्कार मुद्दाको पेसीका कारण सोमबार मात्रै पाकिस्तान गएका सन्दीपको बिदाइका लागि विमानस्थल पुगेका घिसिङले सन्दीपमाथि सिंगो देशको भरोसा रहेको टिप्पणी गरे।
सन्दीपको उपस्थितिसँगै टिम पूर्ण रुपमा बलियो बनेको समेत घिसिङले दाबी गरे। घिसिङले सिंगो देशले गरेको भरोसा सन्दीपबाट पूरा हुने विश्वास समेत व्यक्त गरे।
‘पाकिस्तानसँग, भारतसँग नेपाली क्रिकेट टिमले खेल्दैछ। त्यहाँ सन्दीपको उपस्थिति देशले महत्त्वपूर्ण रुपमा लिइरहेको छ। त्यसैले पनि केही प्राविधिक विषयवस्तुहरुसँग जोडिएर उहाँ टिमसँग जान सक्नुभएको थिएन। आज सिंगो देशले सन्दीपमाथि जसरी भरोसा गरेको छ, त्यो भरोसा सन्दीपबाट पूरा हुनेछ। सन्दीपको इन्ट्रीसँगै टिमले पूर्णता पाएको छ,’ घिसिङले भने।
पाकिस्तान उड्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्रिकेटर लामिछानेले अहिले टिम लयमा रहेको भन्दै आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको बताए। एसिया कपमा राम्रो खेलेर नेपालीको मन जित्ने सन्दीपको भनाइ थियो। उनले पाकिस्तान र भारतसँग क्रिकेट खेल्नु खुसीको पर्व भएको बताए।
सन्दीपले भने, ‘टिमले अहिले राम्रो पर्फमेन्स गरिरहेको छ। पाकिस्तानमा पनि अभ्यास गेम खेलेको थियो। म फिट छु, खेल्नका लागि रेडी छु। एसिया कपमा हामी एकदमै धेरै राम्रो गर्नेछौँ। यो हाम्रो लागि खुसीको पर्व जस्तै हो। किनभने सधैँ यस्ता टिमसँग खेल्न पाउँदैनौँ। अब निरन्तर कसरी खेल्ने भन्नेबारेमा छलफल गर्नुपर्छ।’
सन्दीपविरुद्धको मुद्दामा आइतबार पेसी थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा हेर्न नभ्याइने भएपछि मुद्दाको पेसी भदौ २१ गतेसम्मलाई सरेको छ।
एसिया कपमा नेपालले पहिलो खेल बुधबार पाकिस्तानसँग खेल्दै छ। यस्तै, दोस्रो खेल भने भारतविरुद्ध १८ गते रहेको छ। अर्को पेसीअघि उनले यी दुवै खेल खेल्न पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।