काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रदेशको अध्यक्षमा उठ्ने औपचारिक घोषणा गरेका छन्। यसअघि अनौपचारिक रुपमा निर्वाचनको तयारी गर्दै आए पनि शुक्रबार पत्रकार सम्मेलन गर्दै खड्काले क्यानको बागमती प्रदेश समितिको अध्यक्ष उठ्ने घोषणा गरेका हुन्।
क्यान बागमती प्रदेशस्तरीय समितिको निर्वाचन भदौ १५ गते हुँदै छ। बागमती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले शुक्रबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरेका थिए। उनीहरुले खड्कालाई सहयोग गर्ने बताएका छन्।
बागमतीका बाँकी २ जिल्ला नुवाकोट र चितवन भने पत्रकार सम्मेलनमा सहभागी थिएनन्। पत्रकार सम्मेलनमा पारससँगै मकवानपुर जिल्लाका अध्यक्ष करण महत्रा क्षेत्री, काठमाडौंका अध्यक्ष दिवाकर थापा, भक्तपुरका अध्यक्ष मनिषराज पाण्डे र ललितपुरका अध्यक्ष शेखर श्रेष्ठ थिए। पारसले काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यता प्राप्त गर्दै बागमती प्रदेशको अध्यक्षका लागि अनौपचारिक अभियान सुरु गरेका थिए।
पारसको प्यानलबाट उपाध्यक्षमा मकवानपुर, सचिव ललितपुर र कोषाध्यक्षमा भक्तपुरका प्रतिनिधि उठ्ने घोषणा गरिएको छ। ९ सदस्यको भागबण्डा आपसी समझदारीमा हुने खड्काले दाबी गरेका छन्।
पारसलाई अध्यक्ष पदमा समर्थन गर्न बागमती प्रादेशिक संघका वर्तमान कार्यसमितिका १३ मध्ये ७ जनाले सहमति जनाएका छन्। बागमती प्रदेशका अध्यक्ष राजु बस्नेत, उपाध्यक्ष प्रेम क्षेत्री र कोषाध्यक्ष अनिल अधिकारीसहित ७ जना पारसको पक्षमा खुलेका हुन्।
बागमती प्रदेशमा ६ जिल्लाका २४ र वर्तमान प्रदेश कार्यसमितिका १३ गरी कुल ३७ भोट रहेको छ। हरेक जिल्लाबाट ४ प्रतिनिधिले प्रदेशमा मतदान गर्न पाउने छन्। प्रतिबद्धताअनुसार पारसले ३७ मध्य २३ मत प्राप्त गर्ने देखिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय समितिको चुनाव आगमी असोज पहिलो साता हुँदैछ। हालसम्म ४५ जिल्ला र तीन प्रदेशको चुनाव पनि सम्पन्न भइसकेको छ। अब ४ प्रादेशिक समितिको चुनाव हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।