काठमाडौं– ४ देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपाल पराजित भएको छ। लगातार २ खेलमा जित हासिल गरेको नेपाल तेस्रो खेलमा मलेसियासँग ६ विकेटले पराजित भएको हो।
शुक्रबार मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङ गरेको नेपालले मलेसियासामु जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले ७ विकेट गुमाएर ८३ रन बनाएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
मलेसियालाई जित दिलाउन ओपनर ऐन्ना हमिजा हसिमले नटआउट ३७ रन बनाइन्। महिरा इज्जती इस्मालीले २१ रन बनाइन्।
मलेसियाविरुद्ध नेपालका रुबिना क्षेत्री, सीता राना मगर र पूजा महतोले समान १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३ बनाएकी थिइन्। इन्दु बर्माले २० तथा काजल श्रेष्ठले १८ रनको योगदान दिइन्। अरु खेलाडीले सम्झिनलायक ब्याटिङ गर्न सकेनन्।
मलेसियासँगको हारका बाबजुद नेपाल फाइनल प्रवेश गरेको छ। रनरेटका आधारमा शीर्ष स्थानमा रहँदै नेपाल फाइनल प्रवेश गरेको हो।
यसअघि नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो। यस्तै मलेसिया पहिलो खेलमा हङकङसित १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियाले कुवेतलाई ८ विकेटले पराजित गरेको थियो। नेपालसँग जित निकालेपछि मलेसिया फाइनल प्रवेश गर्न सकेन।
फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि अब हङकङसँग प्रतिस्पर्धा गर्नेछ। ३ खेलमा २ मा जित र १ मा हारसहित नेपाल ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रह्यो। ३ खेलमध्ये २ मा जित र १ मा हारस बेहोरेको हङकङ ४ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो।
नेपालको नेट रनरेट ०.८५३ छ भने हङकङको नेट रनरेट ०.१९२ छ। ३ खेलमा ४ अंक भए पनि मलेसिया नेट रनरेटका कारण फाइनलमा पुग्न सकेन। मलेसियाको नेट रनरेट ०.००७ मात्रै रह्यो।
आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–ट्वान्टी सिरिज खेलिरहेका छन्। यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।