काठमाडौं– भदौ १३ गतेदेखि पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने एसिया कप क्रिकेट खेल्न नेपाली क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गरेको छ। यही भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना एसिया कपमा सहभागिता जनाउन जाने नेपाली टोली मंगलबार राति प्रस्थान गरेको हो।
नेपालले एसिया कप क्रिकेटमा सहभागी हुनुअघि केही अभ्यास खेल पाकिस्तानमा खेल्ने छ। पहिलोपटक एसिया कपमा छनोट भएको नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा भारत र पाकिस्तान छन्। समूह ‘बी’मा श्रीलङ्का बङ्गलादेश र अफगानिस्तान रहेका छन्।
नेपालले १३ गते उद्घाटन खेल पाकिस्तानसँग खेल्नेछ। दोस्रो खेल १८ गते भारतसँग भने श्रीलंकामा खेल्नेछ। बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइले उक्त प्रतियोगिताको लागि आफू निकै सकरात्मक रहेको बताउँदै प्रतियोगितामा जित हासिल गर्ने विश्वास व्यक्त गरे।
यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट खेल प्रर्दशन गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।