काठमाडौं- चार देश सहभागी महिला टी-२० आई सिरिजमा नेपालले हङकङलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। सीता राना मगरको सानदार बलिङको सहयोगमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो।
मलेसिया भ्रमणमा रहेको नेपाली टोलीले जितको लागि ८५ रनको सामान्य लक्ष्य पाएको थियो। उक्त लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। नेपालको जितमा सम्झना खड्काले ३६ बलमा ५ चौकासहित ३६ रन बनाइन्।
नेपालले ओपनर बिन्दु रावललाई दोस्रो बलमै शून्यमा गुमाएको थियो। डेब्यू खेल खेलेकी अर्की ओपनर पूजा महतो १८ बलमा १६ रन बनाउँदै आउट भइन्। इन्दु बर्मा १३ बलमा ९ र रुविना २० बलमा १ चौकासहित १० रनमा आउट भइन्।
मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १९.१ ओभरमा ८४ रनमा अल आउट भएको थियो। हङकङकी मध्यक्रमकी ब्याटर का यिंग चानले २९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाइन्। उनी बाहेक अन्य कुनै पनि हङकङका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
हङकङलाई सस्तैमा रोक्न स्पिनर सीता राना मगरले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन्। यो उनको महिला टि-२० आई करिअरको उत्कृष्ट प्रदर्शन हो। सीता नेपाली महिला टी-२० आई क्रिकेटमा अन्जली चन्द, नेरी थापा र अश्मिना कर्माचार्यपछि पाँच विकेट लिने चौथो बलर हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।