काठमाडाैं- सामाजिक सञ्जाल एक्स (ट्विटर)ले ब्लक गर्न मिल्ने फिचर हटाउने भएको छ। एक्सका मालिक एलन मस्कले चाँडै नै आफ्नो प्लेटफर्मबाट ब्लक गर्ने सुविधा हटाउने घोषणा गरेका छन्।
उनले भनेका छन्, ‘यो सुविधाको कुनै काम छैन। डाइरेक्ट मेसेज ब्लक गर्ने सुविधा भने रहन्छ।’
मस्कको नयाँ घोषणाको प्रयोगकर्ताहरुले प्रशंसा र आलोचना दुवै गरिरहेका छन्। केही प्रयोगकर्ताहरुले नयाँ घोषणाको स्वागत गरिराख्दा केहीले भने आफ्नो टाइमलाइनबाट अपमानजनक पोस्ट हटाउन कठिन हुने टिप्पणी गरेका छन्।
हाल उपलब्ध यो सुविधाअन्तर्गत यदि कुनै प्रयोगकर्ताले कसैको अकाउन्ट ब्लक गर्यो भने उसको टाइमलाइनमा उसका पोस्टहरु देखा पर्दैनन्। न त ब्लक गरिएको प्रयोेगकर्ताको अकाउन्टमा कुनै पोस्ट हेर्न र डाइरेक्ट मेसेज पठाउन सकिन्छ।
मस्कको नयाँ घोषणा कार्यान्वयन भयो भने एप स्टोर र गुगल स्टोरले एक्सलाई कारबाही गर्न सक्नेछन्। किनभने यी दुवै कम्पनीकोे कुनै पनि सामाजिक सञ्जालमा आफूलाई मन नपर्ने अकाउन्ट ब्लक गर्न पाउनुपर्ने नियम छ।
आफ्ना शर्त उल्लंघन गरेको भन्दै यी कम्पनीले एक्सलाई कारबाही गर्न सक्नेछन्। यसो भएमा प्रयोगकर्ताहरूले स्टोरबाट एक्स डाउनलोड गर्न सक्ने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।