काठमाडौं– श्रीलंकामा सञ्चालित एसीसी एसिया इमर्जिङ टिम्स एसिया कप तथा एसिया कपको दुई साताको तयारी खेलेर नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ।
नेपाल फर्किएपछि नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले राम्रो अनुभव हासिल गरेका छन्। साथै उनले कुनै पनि खेलाडी एकै महिनामा विराट कोहली र बाबर आजम बन्न नसक्ने बताएका छन्।
नेपाली खेलाडीप्रति सरकारले गरेको लगानीमा असन्तुष्टि व्यक्त गर्दै उनले यस्तो बताएका हुन्। ‘एक महिनामा केही पनि परिवर्तन हुँदैन। एक महिनामा कोही पनि विराट कोहली र बाबर आजम बन्दैन। त्यसको लागि विस्तारै समय लाग्छ। भनिन्छ नि जित्दा खेरी आतिनु हुँदैन र हार्दा मातिनु हुँदैन। यति बेला सबैले धैर्यता राख्न सक्नुपर्छ’, रोहितले भने।
टेस्ट र एसोसिएट टोलीको स्तरको फरकबारे बताउँदै रोहितले थपे ‘एसोसिएट टोली र टेस्ट टोलीमा फरक भइहाल्छ। त्यो हामीले बुझ्नुपर्ने कुरा हो। एसोसिएटमा खेल्दा सबै जित्छौं भने यो होईन कि टेस्टमा राष्ट्रसँग पनि सबै खेल जित्छौं। विशेषतः अफगानिस्तानलाई हेरे हुन्छ। उनीहरुले पनि सुरु सुरुमा विस्तारै सुधार गर्दै गएका थिए।’
इमर्जिङ कपमा नेपाल भारत ए सँग ९ विकेट र पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो। युएई ए लाई भने ३ विकेटले हराएको थियो। नेपालले अगष्ट ३० देखि १७ सेप्टेम्बर सम्म पाकिस्तान र श्रीलंकामा हुने एसिया कप खेल्नेछ।
नेपाल समूह ए मा भारत र पाकिस्तानसँगै छ। नेपालले अगष्ट ३० मा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।