काठमाडौं– एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल यूएई ‘ए’ विरुद्ध टस हारेर बलिङ गरिरहेको छ। श्रीलंकाको पि सारा ओभल कोलोम्बोमा भएको टसमा यूएई ‘ए’ का कप्तान अली नासिरले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
नेपाल आफ्नो तेस्रो खेल खेल्दै छ। हालसम्म नेपालले जित हात पार्न सकेको छैन। नेपाल यसअघि पाकिस्तानसँग १ सय ७९ र भारतसँग १ सय ६७ रन बनाएको छ।
नेपाल भारतसँग सुरुवाती १० ओभरमा ३७–५ को अवस्थामा थियो। पाकिस्तानविरुद्ध नेपाल सुरुवाती १० ओभरमा ४३–६ को अवस्थामा थियो।
पाकिस्तानविरुद्ध सोमपाल कामीले ७५ र भारतविरुद्ध रोहित पौडेलले ६५ रन बनाउँदै नेपालको साख जोगाएका थिए।
नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो। यूएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो।
यूएई पछिल्लो समय नेपालसँग लगातार पराजित हुँदै आएको छ। नेपाल यो खेलमा जित हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।