काठमाडौं– भारतले आगामी सेप्टेम्बर र अक्टोबरमा चीनमा हुने १९औं एसियाली खेलकुदमा खेल्ने क्रिकेट टोली घोषणा गरेको छ।
भारतले युवा ब्याटर ऋतुराज गायकवाडको कप्तानीमा टोली घोषणा गरेको हो। भारतले आफ्नो दोस्रो रोजाईको टोली एसियाली खेलकुदमा पठाउने भएको छ।
यस सिजनको आईपीएलमा कोलकाता नाइट राइडर्सबाट सानदार प्रदर्शन गरेका रिंकु सिंह टोलीमा छन्। रिंकुले गुजरात टाइटन्सका यश दयाललाई अन्तिम ओभरमा लगातार ३१ रन प्रहार गर्दै टोलीको जित पक्का गराएका थिए।
बायाँ हाते ब्याटर रिंकु फिनिसर हुन्। त्यस्तै पञ्जाब किङ्सबाट उत्कृष्ट प्रदर्शन गरेका विकेटकिपर प्रभसिम्रन सिंहलाई पनि भारतले मौका दिएको छ।
प्रतियोगिता आगामी सेप्टेम्बर १९ देखी अक्टोबर ८ सम्म जेजिङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङपेङ क्रिकेट फिल्डमा हुनेछ। प्रतियोगिता टी २० शैलीमा हुनेछ।
आगामी अक्टोबर ५ देखी भारतमा एकदिवसीय विश्वकप सुरु हुँदैछ। त्यसैको कारण भारतले आफ्नो विश्वकप टोलीमा नहुने खेलाडीलाई एसियाली खेलकुदमा पठाउने भएको हो। यस प्रतियोगिता नेपालले पनि खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।