काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पुरस्कार राशिमा ऐतिहासिक निर्णय गरेको छ। अबदेखि हुने महिला तथा पुरुषका समान क्रिकेट प्रतियोगितामा समान पुरस्कार राशि पाउने घोषणा आईसीसीले गरेको हो।
यसअघिसम्म एउटै किसिमका पुरुष र महिला क्रिकेट प्रतियोगिताको पुरस्कार राशि असमान थियो। समान प्रतियोगिता भए पनि पुरुषको तुलनामा महिला क्रिकेट टिमले कम पुरस्कार राशि पाउने गरेको थियो। उक्त विभेद अबदेखि अन्त्य भएको आईसीसीले जनाएको छ।
आईसीसीको मातहत हुने महिला र पुरुषका हरेक समान प्रतियोगिताको पुरस्कार राशि पनि समान हुने आईसीसीले बिहीबार निर्णय गरेको हो। आईसीसीले टेस्ट क्रिकेटमा ओभर रेट प्रतिबन्ध पनि गरेको छ।
दक्षिण अफ्रिकाको डर्नमाभ भएको वार्षिक सम्मेलनमा आईसीसीले आफ्ना सबै महिला र पुरुष टोलीको पुरस्कार रकम समान बनाउने घोषणा गरेको हो ।
आईसीसी अध्यक्ष ग्रेग बार्कलेले यो महत्त्वपूर्ण क्षण भएको उल्लेख गरेका छन्। ‘यो खेलको इतिहासमा महत्त्वपूर्ण क्षण हो। म खुसी छु। आईसीसीको विश्वव्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पुरुष र महिला क्रिकेटरले समान पुरस्कार राशि पाउनेछन्,’ उनले भनेका छन्।
पुरस्कार राशि समान बनाउनकै लागि सन् २०१७ देखि महिला प्रतियोगितामा पुरस्कार बढाउँदै आइएको पनि उनले बताए।
अब आईसीसी महिला विश्वकप, महिला टी–२० विश्वकप र यू–१९ महिला विश्वकपको विजेताले पुरुषकै समान पुरस्कार पाउने उनले घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।