काठमाडौं– इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्ने नेपाली पुरुष क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिदाई गरेको छ। सोमबार एक कार्यक्रमकाबीच क्यानले टोलीलाई बिदाई गरेको हो।
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र क्यान अध्यक्ष चतुरबहादुर चन्दलगायतले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरेका हुन्। सोमबार नै नेपाली टोली श्रीलंका प्रस्थान गर्नेछ।
इमर्जिङ कप जुलाई १३ (असार २८) गतेदेखि श्रीलंकामा हुँदैछ। नेपालले पहिलो खेल पाकिस्तान ‘ए’सँग जुलाई १४ अर्थात् असार २९ गते खेल्ने छ। प्रतियोगिता १३ जुलाईदेखि २३ जुलाईसम्म हुनेछ। नेपाल समूह ‘बी’ मा छ। नेपाल रहेको समूहमा यूएई, पाकिस्तान ए र भारत ए छन्।
त्यस्तै, समूह ‘ए’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन्। टेस्ट राष्ट्रका ५ टोलीले भने २३ वर्षमुनिको टीम पठाएका छन्। एसोसियट राष्ट्रबाट भने राष्ट्रिय टिम नै खेल्नेछ।
पहिलो खेल पाकिस्तानसँग खेल्ने नेपालले दोस्रो खेल १७ जुलाईमा भारत ए सँग खेल्नेछ। नेपालले तेस्रो खेल १९ जुलाईमा यूएईसँग खेल्नेछ। शीर्ष २ मा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ। फाइनल २२ जुलाईमा हुनेछ।
पाकिस्तानले मोहम्मद हरिसको कप्तानीमा इमर्जिङ टिम्स एसिया कप खेल्ने टोली घोषणा गरेको छ। पाकिस्तानको टोलीमा सिनियर टोलीबाट खेलेका ८ युवा स्टार खेलाडी छन्। यस्तै, भारतले यश धुलको नेतृत्वमा टिम घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।