काठमाडौं– एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि अलराउन्डर पवन सर्राफलाई टोलीमा समावेश गरिएको छ। सर्राफले १० महिनापछि नेपाली क्रिकेट टोलीमा पुनरागमन गरेका हुन्।
आरिफ शेखको स्थानमा उनलाई मौका दिइएको हो। शेखले नखेल्ने जानकारी दिएपछि सर्साफलाई मौका मिलेको हो।
आरिफले पारिवारिक कारणले नखेल्ने निर्णय लिएको क्यानले जनाएको छ। पवन गत वर्ष भदौपछि पहिलोपटक नेपाली टोलीमा फर्किएका हुन्। पवन पछिल्लोपटक भदौमा केन्या भ्रमणमा नेपालको टोलीमा थिए। तत्कालीन समयमा उनको प्रर्दशन राम्रो नभएको भन्दै आलोचना भएको थियो। यसपटक उनलाई फेरी मौका आएको छ।
पवन स्पिनसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्छन्। पवनले नेपालबाट ८ ओडीआई र १७ टी २० आइ खेल खेलेका छन्।
प्रतियोगितामा आफ्नो प्रमुख टोली पठाउने नेपाल एकमात्रै टोली हो। टेस्ट टोलीले यू–२३ खेलाडी पठाएका छन्।
नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले पनि खेल्ने छैनन्। उनीहरु टी २० लिग खेल्न क्यानडा जाँदै छन्। तीव्र गतिका बलर करण केसी र ज्ञानेन्द्र मल्ललाई पनि नेपालले विश्राम दिएको छ।
प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ। नेपाल समूह ‘बी’मा छ। नेपाल रहेको समूहमा युएई, पाकिस्तान र भारत ए छन्। त्यस्तै समूह ‘ए’मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन्। पाँच टेस्ट राष्ट्रका भने यु २३ टोलीले खेल्नेछ। ओमान र युएईले पनि आफ्नो ए टोली पठाउने छन्।
नेपालले पहिलो खेल १४ जुलाइमा पाकिस्तान ‘ए’सँग खेल्नेछ। नेपालले दोस्रो खेल १७ जुलाइमा भारत एसँग खेल्नेछ। नेपालले १९ जुलाइमा युएईसँग खेल्नेछ। यदि शीर्ष दुईमा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ। फाइनल २२ जुलाइमा हुनेछ।
नेपालको टोली:
कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान) कुशल मल्ल, पवन सर्राफ, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।