काठमाडौं– बास डी लीडेले विष्फोटक ब्याटिङ र उत्कृष्ट बलिङ गर्दै नेदरल्यान्डसलाई विश्वकपमा पुर्याएका छन्। उनले ९२ बलमा १२३ रन बनाए। त्यसअघि उनले बलिङमा १० ओभरमा ५२ रन खर्चेर ५ विकेट लिएका थिए।
जिम्बावेको क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७७ रन बनाएको थियो।
नेदरल्यान्ड्सले पाएको २७८ रनको लक्ष्य ४२.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। विश्वकपमा पुग्न नेदरल्यान्ड्सले ४४ ओभरभित्र पूरा गर्नुपर्ने थियो। यससँगै स्कटल्यान्ड र जिम्बावेसँग समान ६ अंक जोडेको नेदरल्यान्ड्स रनरेटका आधारमा विश्वकपमा छनोट भयो।
स्कटल्यान्डका ब्रेन्डन म्याकमुलेनले १ सय १० बलमा ११ चौका र ३ छक्कासहित १ सय ६ रनको सानदार शतकीय इनिङ खेले पनि काम लागेन। उनले कप्तान रिची बेरिंग्टनसँग चौथो विकेटका लागि १ सय ३७ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए।
कप्तान रिची बेरिंग्टन ८४ बलमा ३ चौका र २ छक्कासहित ६४ रनमा आउट भए। टम मार्किन्टस २८ बलमा ५ चौकासहित ३८ रनमा नट आउट रहे। अन्य ब्याटरले भने राम्रो गर्न सकेनन्।
ओपनर क्रिस म्याकब्राइड ३२, म्याथ्यु क्रस डक, जर्ज मुन्शे ९, माइकल लिस्क १ र क्रिस ग्रेभ्स १८ रनमा आउट भए। नेदरल्यान्ड्सका लागि रायन केलिनले दुई र लोगन भान वीकले एक विकेट लिए। श्रीलंका यसअघि नै विश्वकपका लागि छनोट भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।