काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत प्लेअफ खेलमा नेपालले यूएईलाई हराएको छ। सातौं स्थानका लागि भएको सेमिफाइनल खेलमा नेपाल यूएईविरुद्ध तीन विकेटले विजयी भएको हो।
यसअघि जिम्बावेको हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको यूएई ४६ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको थियो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले। उनले नटआउट रहँदै ८५ बलमा ७९ रन बनाए। यस्तै सन्दीप लामिछाने पनि नटआउट रहँदै ३७ बलमा २३ रन जोडे।
यस्तै नेपालका लागि कुशल भुर्तेलले ५९ बलमा ३५, ज्ञानेन्द्र मल्लले ३३ बलमा १३, गुलशन झाले २४ बलमा १२, रोहित पौडेलले १५ बलमा ४, भिम सार्की ९ बलमा १, अर्जुन साउद ५ बलमा १ र आरिफ शेखले ५ बलमा १ रन जोडे।
यूएईका लागि कप्तान वृत्य अरबिन्दले ७५ बलमा ४ चौकाको सहयोगमा ४४ रन बनाए। वृत्य गुलसन झाको बलमा बोल्ड आउट भएका थिए।
यस्तै यूएईका ओपनर आसिफ खान इनिङको दोस्रो बलमा नै करण केसीको बलमा शून्य रनमा आउट भएका थिए। दोस्रो विकेटका लागि आर्यांश शर्मा र वृत्यले ८८ बलमा ६४ रनको साझेदारी गरेका थिए।
तर, शर्मा ४३ बलमा ३ चौकाको सहयोगमा २८ रन बनाउँदै सन्दीप लामिछानेको बलमा आउट भए। पाँचौ विकेटका लागि रोहन मुस्तफा र बसिल हमिदले ७२ बलमा ५८ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। मुस्तफा ५६ बलमा ३५ रन बनाउँदै आउट भए भने हमिदले ३५ बलमा २९ रन बनाए।
संचित शर्मा १४ बलमा १२ रन तथा रमिज शाहजादले २८ बलमा १० रन बनाए।
नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३/३ तथा प्रतिस जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए। नेपालले अब सातौं स्थानको लागि मंगलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
शुक्रबार भएको पहिलो प्लेअफ खेलमा अमेरिकालाई पराजित गरेको थियो। नेपालसँग पराजित भएको यूएईले अब बिहीबार नवौं स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।