काठमाडौं- जिम्बावेमा जारी विश्वकप छनोट क्रिकेट अन्तर्गत सुपर सिक्सको खेलमा शुक्रबार श्रीलंकाले नेदरल्याण्ड्सलाई २१ रनले पराजित गरेको छ। यो जितसँगै श्रीलंका शीर्ष स्थानमा उक्लिएको छ।
२१४ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्स श्रीलंकाली बलरका अगाडि निरीह बन्न पुग्यो। नेदरल्याण्ड्स मात्र ४० ओभर मैदानमा टिक्दै १९२ रनमा अल आउट हुन पुग्यो।
नेदरल्याण्ड्सका कप्तान स्कट इडवार्डसले अविजित ६७ रन बनाए भने वेस्ली बरेसीले ५२ तथा बास डी लिड्सले ४१ रन बनाए। अन्य ब्याटर सस्तैमा आउट हुँदा नेदरल्याण्ड्सले खेल गुमाउन पुग्यो।
श्रीलंकाका महेश थीक्सेनाले ३ तथा वानिन्दु हसरंगाले २ विकेट लिएका थिए।
पहिला ब्याटिङ गरेको श्रीलंकाको सुरुवात राम्रो हुन सकेको थिएन। ९६ रनमा ६ विकेट गुमाएको श्रीलंकालाई थिक्सेना र धनञ्जय डी सिल्भाले आठौं विकेटका लागि ७७ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए।
छैटौं नम्बरमा ब्याटिङमा आएका डी सिल्भाको ९३ रनको मद्दतमा श्रीलंकाले ४७.४ ओभरमा अल आउट हुनुअघि २१३ रन बनाएको थियो।
१३१ रनमा ७ विकेट गुमाएर टिम दबाबमा परेको बेला ब्याटिङमा आएका थिक्सेनाले २८ रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।