काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि आगामी असोज ५ र ६ गते निर्वाचन हुने भएको छ। क्यानको शुक्रबार बसेको केन्द्रीय कार्य समिति बैठकले असोज ५ र ६ गते निर्वाचन गर्ने निर्णय गरेको हो।
क्यानले साउन १० गतेसम्म सदस्यता वितरण गर्न जिल्ला संघहरुलाई जिम्मेवारी दिएको छ। साथै बैठकले साउन मसान्तसम्म जिल्ला निर्वाचन, भदौ १० गतेसम्ममा प्रदेश निर्वाचन गर्ने जनाएको छ।
जिल्ला तथा प्रदेश निर्वाचनको अनुगमनका लागि कानुनी सल्लाहकार रोचक रेग्मीको संयोजकत्वमा २ सदस्यीय समिति गर्न गर्ने निर्णय समेत क्यानको बैठकले गरेको छ।
यसैगरी क्यान कार्यसमिति बैठकले राष्ट्रिय पुरुष तथा महिला क्रिकेट खेलाडीहरुको २०२३ को बाँकी ६ महिनाको केन्द्रीय वर्गीकरणको जिम्मेवारी तीन जनालाई दिने निर्णय गरेको छ।
त्यसका लागि क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतमको संयोजकत्मा क्रिकेट म्यानेजर विनोद दास र छनोट समितिका संयोजक दिपेन्द्र चौधरी सम्मिलित ३ सदस्यीय समिति बनाएर जिम्मेवारी दिने निर्णय गरेको क्यानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।