काठमाडौं– एसीसी मेन्स अन्डर १६ इस्ट जोन कप क्रिकेटमा अलराउन्डर अशोक धामीको उत्कृष्ट खेलसँगै नेपाल समूह विजेताको रुपमा सेमिफाइनल पुगेको छ। शुक्रबार बिहान भएको खेलमा घरेलु टोली मलेसियालाई ८४ रनले हराएसँगै नेपाल समूह विजेता बनेको हो।
जितको लागि १८४ रनको विजयी लक्ष्य पछ्याएको मलेसिया ३३.५ ओभरमा ९९ रनमा अल आउट भयो। मलेसियाका मोहम्मद हैरिलले ५४ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २५ रन बनाए। मोहम्मद आलिफ ५२ बलमा २ चौकासहित १५ रनमा आउट भए। अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपालका स्पिनर अशोक धामीले ७ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए। अभिशेक तिवारीले ४.५ ओभरमा २६ रन खर्चेर ३ विकेट, सन्तोष यादवले ७ ओभरमा २ मेडनसहित १८ रन खर्चेर २ विकेट र कृतिक कामतले एक विकेट लिए।
बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ३३.४ ओभरमा १८३ रन बनाएको थियो। अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रन बनाए। उनी प्लेयर अफ द म्याच चुनिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।