काडमाडौं– आईसीसी विश्वकप छनोट प्रतियोगितामा सोमबारका दुवै खेल रोचक बनेका छन्। समूह ‘ए’ मा सोमबार नेदरल्याण्ड्स र वेष्टइन्डिजबीच र जिम्बावे र अमेरिकाबीच खेल रहेका थिए।
यता दुई पटकको विश्वकप विजेता वेष्टइन्डिजलाई नेदरल्याण्ड्सले सुपर ओभरमा हराएको छ। यो हारसँगै विश्वकप यात्रामा वेष्टइन्डिजलाई ठूलो धक्कासमेत लागेको छ।
सुपर सिक्समा स्थान बनाइसकेका वेष्टइण्डिज र नेदरल्याण्ड महत्वपूर्ण २ अंकका लागि खेलेका थिए। हरारेमा टस हारेपछि फिल्डिङको निम्तो पाएको वेष्ट इण्डिजले निकोलस पुरनको शतकको सहयोगमा ५० ओभरमा ६ विकेट गुमाएर ३७४ रन बनायो। पुरन १०१ रनमा अविजित रहे।
जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले तेजा निदामारुनको शतकको सहयोगमा ५० ओभरमा ९ विकेट गुमाएर ३७४ रन नै बनायो।
सुपर ओभरमा पहिले ब्याटिङ गर्न आएको नेदरल्याण्ड्सका भान बेकले बाउन्ड्रीको रनको वर्षा गरे। होल्डरको पहिलो बलमा चौका हानेका उनले त्यसपछि क्रमशः छक्का, चौका, छक्का, छक्का र चौका हाने। र, नेदरल्याण्ड्सले एक ओभरमै ३० रन जोड्यो।
उनै भान वेक बलिङमा आए र ८ रन दिएर वेष्ट इण्डिजको २ विकेट लिँदै नेदरल्याण्ड्सलाई सनसनपूर्ण जित दिलाए। यो जितसँगै सुपर ओभरका खेल सुरु गर्नुअघि नै नेदरल्याण्ड्ससँग २ अंक भएको छ। यही समूहबाट गएको जिम्बावेको ४ अंक छ भने वेष्टइण्डिज अंकविहीन छ।
अर्को समूहबाट श्रीलंका, स्कटल्याण्ड र ओमान आएको छ। समूह चरणको अन्तिम खेलमा एकआपसमा खेल्नुअघि श्रीलंका र स्कटल्याण्डसँग सुपर ओभरमा २–२ अंक भइसकेको छ। ओमान भने अंकविहीन छ।
अब सुपर सिक्समा एउटा समूहबाट आएका सबै टिमले अर्को समूहबाट आएका सबै टिमसँग ३/३ खेल खेल्नेछन् र शीर्ष दुई टोली विश्वकपमा पुग्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।