काठमाडौं- आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले बिहीबार विश्वविजेता भइसकेको देश वेष्टइन्डिजबिरुद्ध खेल्यो। टेस्ट राष्ट्र वेष्ट इन्डिजसँग १०१ रनले खेल गुमायो। विश्वकै बलियोमध्ये एक टिमसँग नेपालका खेलाडीहरु अन्तिमसम्म डटिरहनुलाई पनि ठूलो सफलताका रुपमा लिइएको छ।
नेपाली खेलाडीहरुले यसबाट ठूलो शिक्षा हासिल भएको महसुस गरेका छन् भने आगामी दिन थप बलियो बन्ने प्रेरणा समेत प्राप्त भएको बताइरहेका छन्। बिहीबारको खेलमा नेपालका तर्फबाट ब्याटिङमा आरिफ शेखले राम्रो प्रदर्शन गरे। उनले नेपालका तर्फबाट सर्वाधिक ६३ रन बनाए।
क्रिकेट एसोसिएसन नेपाल (क्यान)सँग उनले खेलको अनुभूति बाँड्ने क्रममा पराजित भए पनि धेरै कुरा सिक्न पाएको बताएका छन्। उनले भनेका छन्, 'वेष्टइन्डिजसँग खेल्न पाउनु पनि हाम्रा लागि राम्रो कुरा हो। हामीले धेरै कुरा सिक्न पायौं।'
व्यक्तिगत रुपमा उनले ६३ रन बनाएर नेपालको इनिङ्स उकासे। तर आफू उक्त प्रदर्शनबाट सन्तुष्ट नभएको बताए। 'यही रनले जितमा बदल्न सघाएको भए सन्तुष्ट भइन्थ्यो होला,' उनको भनाइ छ।
आफूहरुलका लागि हरेक दिन, सिक्ने दिन भएकाले यसलाई त्यही रुपमा लिइएको बताए। 'हरेक खेललाई नयाँका रुपमा लिनेछौं। हामी अर्को अभ्यासमा विपक्षी टिम (नेदरल्यान्डस्)को बलियो र कमजोर पक्षलाई लिएर रणनीति बनाउनेछौं,' उनले भने।
वेष्टइन्डिजलाई २८० सम्ममा रोक्न सकिने भए पनि एउटा फेज मिस गरेको उनले बताए। नेपाली खेलाडीले खेलपछि वेस्टइन्डिजका खेलाडीहरुसँग कुराकानी गरेका थिए। जहाँ त्यहाँका अनुभवी खेलाडी केही सुझाव दिइरहेको भिडियो क्लिपहरु बाहिरिएको थियो।
सुरुवात राम्रो भएर पनि अन्तिममा लय बिग्रन पुगेको बताउँदै त्यसलाई कायम राख्ने तरिकाबारे उनीहरुले आफ्नो अनुभव सुनाएको उनले बताए।
उनले भने, 'एसोसिएट लेभलमा त्यस्तो पेस बलिङ सामना गर्नुपरेको थिएन। वेष्टइन्डिज विरुद्धको खेलमा हाम्रा लागि नयाँ अनुभव थियो। हामीले उनीहरुका अनुभवी खेलाडीसँग कुरा गर्यौं। स्टार्टलाई कसरी अन्त्य गर्ने भनेर कुरा गर्यौं। माइन्ड सेटअप गर्ने कुरा सिक्ने मौका पायौं।'
यसैगरी वेष्टइन्डिजविरुद्ध ललित राजवंशीले तीन विकेट लिए। बलिङमा राम्रो गरेका उनले आफ्नो तर्फबाट शतप्रतिशत दिने कोसिस गर्दा उक्त नतिजा प्राप्त भएको बताएका छन्। उनको प्रतिक्रिया छ, 'जहिल्यै टिभीमा हेर्ने टेस्ट राष्ट्रसँग खेल्न पाइयो। सिक्न पाइयो। टिमले जित्दा राम्रो महसुस हुन्थ्यो। मेरो भूमिकामा शतप्रतिशत गर्ने कोसिस गरें। जितेको भए अझै राम्रो लाग्थ्यो।'
आफूलाई ओपनिङ र डेथ ओभरमा मौका दिने निर्णय क्याप्टेन र कोचको भएको बताए। आफू कुनै प्रेसर नरहेर लाइन र लेन्थमा अडिग रहँदा उक्त प्रदर्शन भएको बताए।
उनले भने, 'टिमको प्लान पनि हुन्छ। म आफ्नो प्लान आफैं पनि बनाइरहेको हुन्छु। अभ्यासका क्रममा केही नयाँ रणनीति बनाइन्छ। कमभन्दा कम रनमा राख्ने र डिफेन्ड गर्ने कुरामा हामीले छलफल गरिरहेका हुन्छौं।'
वेष्टइन्डिज बलियो टिम भएकाले पराजित भएको बताउँदै आगामी खेल राम्रो गरेर अर्को राउन्ड पुग्नेमा आफू आशावादी रहेको बताए। नेपाली दर्शकहरुले हार वा जित दुवैमा उत्तिकै हौस्याइरहेको बताउँदै त्यो हौसला कायम राख्न उनीहरुले आग्रह गरेका छन्। आरिफ भन्छन्, 'नेपालका दर्शकले धैर्य भएर खेल हेरिदिनुभएको छ। अहिलेको हारमा पनि सपोर्ट गर्नुभएको छ। हामी अवश्य सुपर ६ मा जानेछौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।