आईसीसी एकदिवसीय विश्वकपट छनोट अन्तर्गतको तेस्रो खेल नेपालले बिहीबार वेष्टइन्डिजसँग खेल्दैछ। चारपटकको विश्वविजेता वेस्टइन्डिजसँग नेपाली खेलाडिहरुको खेल निकै रोमाञ्चक हुने अपेक्षा नेपाली दर्शकहरुले गरेका छन्। एक खेलमा जित र एकमा हार बेहोरेको नेपालका लागि यो खेल महत्त्वपूर्ण छ। पछिल्लो समय लयमा रहेको नेपाली टिमबाट दर्शकहरुले ‘चमत्कार’को अपेक्षा गरेका छन्। नेपाली टिममा पछिल्लो समय जोडिएर राम्रो प्रदर्शन गरिरहेका छन् भीम सार्की। ब्याटिङ लाइन धरमराउँदा सम्हालेर जिततिर डोर्याउन उनको भूमिका महत्त्वपूर्ण बनिरहेको छ। उनीसँग नेपाल क्रिकेट एसोसिएसनको अफिसियल टिमले गरेको भिडियो संवाद शब्दमा उतारिएको छ:
जिम्बावेमा आएर खेल्दा कस्तो महसुस भइरहेको छ?
जिम्बावेका दर्शकसँग अलि अगाडि आएकाले बानी परेका छौं। यहाँको दर्शकका अघि खेल्न पाएका छौं। यहाँ पनि राम्रै दर्शक हुने रहेछन्। योभन्दा धेरै दर्शकका अघि हामीले नेपालमा खेलिसकेको हुनाले खासै गाह्रो भइरहेको छैन। नेपाली दर्शक मिस भने गरिरहेका छौं।
ब्याटिङ अर्डर परिवर्तन हुँदा के सोचिरहनुभएको थियो?
त्यो त टिमको आवश्यकताअनुसार व्यवस्थापनले जुन निर्णय लियो, त्यो सही थियो। कुशल मल्लले राम्रो गर्न सक्छ र त्यो ठाउँ (तेस्रो नम्बर)मा गएर राम्रो गर्यो।
कुशल भुर्तेल ९९ रनमा आउट हुँदा कस्तो लागिरहेको थियो?
उहाँले शतक डिजर्भ गर्नुहुन्थ्यो। एक रनले चुक्दा एकदमै खल्लो लाग्यो।
आगामी खेलका लागि कस्तो रणनीति बनाइरहनुभएको छ?
टिमलाई जुन ठाउँमा आवश्यकता पर्यो, त्यही ठाउँमा गएर ब्याटिङ गर्नेगरी तयारी गरिरहेको छु।
नेपाली दर्शकहरुलाई के भन्न चाहनुहुन्छ?
उहाँहरुलाई मिस गरिरहेका छौं। तैपनि घरबाटै उहाँहरुले टिभीमा र मोबाइलमा हेरेर हामीलाई हौस्याइरहनुभएको छ। उहाँहरुलाई धन्यवाद दिन चाहन्छु र यही सहयोगको अपेक्षा गरिरहेको छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।