निर्वाचन आचार संहिता लागू गरेकोमा गच्छदारको आपत्ति

नेपाल लाइभ | २०७४ भदौ १७ शनिबार | Saturday, September 02, 2017 २०:३१:०० मा प्रकाशित

राजविराज– उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले निर्वाचन आयोगले सरकारको कामकाजलाई बाधा हुनेगरी तीन महिनाअघिनै आचार संहिता लागु गरेकोप्रति आपत्ति जनाएका छन्।  

राजविराजस्थित नेपाल पत्रकार महासंघमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारको कामकाजमा दख्खल दिएर हातखुटृा बाँधेको भन्दै सच्याउनुपर्ने बताए।  

अबको तीन महिनापछि (मंसिर) मा हुने निर्वाचनका लागि अहिले नै आचार संहिता लगाउनु जायज नभएको भन्दै यसले सरकारको दैनिक कामकाजमा नै प्रभाव परेको उनको भनाई छ।

यति लामो अवधिका लागि आचारसंहिता लागू भएको पहिलो पटक भएको बताउँदै उम्मेदवारी दर्ता भए वा निर्वाचनको ३५ दिनअगावै आचारसंहिता लगाइन्थ्यो तर मंसिरमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले अहिले नै आचारसंहिता लगाएकोप्रति उनले आक्रोस व्यक्त गरे।  

तीन महिना अगावै सरकारको कामकाज नै प्रभावित हुने गरी लगाइएको आचारसंहिताबारे पुनर्विचार गर्न निर्वाचन आयोगलाई आग्रह समेत गरे।  

क्षेत्र निर्धारण गर्दा अन्याय भएको भन्दै आयोगको प्रतिवेदनप्रति समेत आफूहरूको चित्त नवुझेको उनको भनाई छ ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष समेत रहेका गच्छदारले हालै आएको बाढीबाट क्षति भएको २ नम्बर प्रदेश मधेशका जिल्लामा चुनावलाई मध्यनजर गर्दै नेपाली सेनाले तत्काल आवागमन सहज बनाउने कार्यमा जुटेको बताए।  

निर्वाचन क्षेत्र र मतदानस्थलमा बाटोघाटो बिग्रेको ठाउँमा अहिले निर्वाचन अधिकृत र मतदाता जानेगरी बाटो निर्माण कार्यमा नेपाली सेना लागेको उनले बताए। रासस