काठमाडौं– २० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। साझा पावर डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरिरहेको आयोजनामा कुमारी बैंकको अगुवाइमा ऋण लगानी सम्झौता भएको हो।
सिन्धुपाल्चोकको बलेफी खोलामा निर्माण हुने २० मेगावाटको आयोजनाको अनुमानित लागत ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ। ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीमा निर्माण हुने आयोजना यही असारबाटै निर्माणमा जाने कम्पनीका प्रबन्ध सञ्चालक कुवेरमणि नेपालले जानकारी दिए।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का कार्यसमिति सदस्यसमेत रहेका नेपालले निर्माण सुरु गरेको २ वर्षमा आयोजनाबाट विद्युत् उत्पादन हुने बताए।
वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रति युनिटका दरले विद्युत् खरिद–बिक्री सम्झौता भएको आयोजनाले वार्षिक १० करोड ५३ लाख युनिट विद्युत् उत्पादन गर्नेछ।
आयोजनाबाट वर्षायाममा ७ करोड २६ लाख ८४ हजार युनिट अर्थात ३४ करोड ८८ लाख रुपैयाँ र हिउँदमा ३ करोड २६ लाख २१ हजार युनिट अर्थात २७ करोड ४० लाख रुपैयाँ गरी ६२ करोड रुपैयाँ बराबरको ऊर्जा उत्पादन हुनेछ।
असार ५ गते भएको वित्तीय व्यवस्थापनमा आयोजनाका तर्फबाट कम्पनीका अध्यक्ष सञ्जिव न्यौपाने र प्रवन्ध सञ्चालक कुवेरमणि नेपाल तथा कुमारी बैंकका आयोजना लगानी प्रमुख भुषण तण्डुकारले हस्ताक्षर गरेका छन्।
रिडी पावर कम्पनीले मुख्य लगानीमा निर्माण हुने आयोजनामा कुमारी बैंकले १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको छ। बाँकी १ अर्ब ८० करोड रुपैयाँ ऋण लगानीका लागि कुमारी बैंकले नै अन्य बैंकसँग प्रस्ताव गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।