काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप छनोट खेल अन्तर्गत अमेरिकासँगको खेलमा नेपालका लागि भीम सार्कीले अर्धशतक पूरा गरेका छन्। उनले ९७ बलमा चार चौकाको सहारामा ५१ रन बनाएका हुन्।
मंगलबारको खेलमा अर्धशतक पूरा गर्ने उनी पहिलो खेलाडी बनेका छन्। २०८ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशल भुर्तेल ३९ रन बनाएर बाहिरिएका थिए।
उनले ५४ बल खेलेर १ छक्का र ४ चौकाको सहयोगमा उक्त रन बनाएका हुन्। उनलाई अमेरिकाका बलर नोसथुस केन्जिगेले आफ्नै बलमा क्याचआउट गराएका हुन्। यसअघि नेपालका ओपनर आसिफ शेख १२ रन बनाएर बाहिरिएका थिए।
यसैगरी कप्तान रोहित पौडेल २९ बलमा १६ रन बनाएर आउट भए भने कुशल मल्ल १३ बलमा १३ रन नै बनाएर बाहिरिए।
जिम्बावेको हरारेमा भइरहेको प्रतियोगितामा अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २०७ रन मात्र बनाएको हो। शायन जहांगिरले अमेरिकाका लागि सर्वाधिक एक सय रन बनाए।
नेपालले अहिले ३७ ओभरको समाप्तिमा चार विकेट गुमाएर १६३ रन बनाएको छ। जितका लागि ४५ रन आवश्यक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।